सर्लाही,माघ- ५,नेपाली कांग्रेस अनुशासन समिति सर्लाहीले आफूहरूले कारवाहीको सिफारिस गरेका पदाधिकारीहरूको विषयमा केन्द्रीय अनुशासन समितिले हालसम्म कुनै कदम नचाले पछि ध्यानाकर्षण गर्ने उद्देश्यले ज्ञापन पत्र बुझाएको छ।
नेपाली कांग्रेस सर्लाहीका उपसभापति तथा जिल्ला अनुशासन समिति संयोजक डा. सरोजकुमार, सचिव निरज कार्की, मनोजकुमार यादव, सहसचिव इन्द्रबहादुर योञ्जन, कोषाध्यक्ष विगुप्रसाद चौधरी सहित ७० भन्दा बढी सदस्यहरूले हस्ताक्षर गरि केन्द्रीय कार्यालय सानेपामा ज्ञापन पत्र बुझाइएको हो।
ध्यानाकर्षण पत्र बुझाउन पुगेका सर्लाहीका पदाधिकारीका साथ मधेस प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंह,पूर्व सभापति एवम् मन्त्री नागेन्द्र कुमार ,प्रदेश सांसद जंगीलाल राय,जिल्ला समन्वय समिति सभापति एवम् कांग्रेस नेता काैशल किशोर सिंह,पूर्व प्रदेश सांसद उपेन्द्र महताे, हरिपुर्वा नगरपालिकाका मेयर बिनाेद कुमार साह,प्रदेश समिति सदस्यहरू रामबाबु साह,साेनी कुमारी बम्जन लगायतका नेताकार्यकर्ता सहभागी भएका थिए।
ज्ञापन पत्रमा २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको दौरान नेपाली कांग्रेस र गठबन्धनका साझा उम्मेदवारहरूको विरुद्धमा प्रचार गर्दै पार्टीको हित विपरीत कार्य गर्ने जिल्ला उपसभापति नविन अधिकारीसहित अन्य व्यक्तिहरूलाई कारवाही गर्न माग गरिएको छ।
जिल्ला अनुशासन समितिका बैठकहरूले २०७९ कार्तिक २९, ३० र मंसिर १ मा नियम अनुसार उनीहरूलाई कारवाहीको सिफारिस गर्दै तत्काल निलम्बन गर्ने निर्णय गरि मधेश प्रदेश र केन्द्रीय कार्यालयलाई सूचित गरिएको थियो।
मधेश प्रदेश समितिले २०८० भदौं ३० मा निलम्बनलाई स्विकृत दिएको भए पनि केन्द्रीय अनुशासन समितिले निर्णयलाई कार्यान्वयन गर्न कुनै कदम अघि नबढाएपछि आफूहरूले ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस सर्लाहीका उपसभापति डाक्टर सराेज कुमारले जानकारी दिए ।
केन्द्रीय अनुशासन समिति गम्भीर भएर कार्वाहीकाे प्रक्रिया अघि नबढाए विभिन्न तहका नेता र कार्यकर्ताहरूसहित आन्दोलनको कार्यक्रम तय गर्न बाध्य हुने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ। यसले उत्पन्न गर्ने परिस्थितिकाे सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेस केन्द्रीय कार्यालय र केन्द्रीय अनुशासन समितिको हुने ज्ञापनपत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र बुझाउन काठमाडौं पुगेका नेपाली कांग्रेस सर्लाहीका नेता कार्यकर्ताले सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सर्लाहीमा पार्टीको अवस्था बारे जानकारी गराएका थिए ।