सर्लाही,माघ-५, स्थानीय बजारमा  तरकारीको मूल्यमा ठूलो गिरावट आएको छ। बजारमा काउली अहिले प्रतिकेजी १५ रुपैया, गोलभेंडा २० रुपैया, आलुरातो ३० रुपैया र प्याज हरियो २० रुपैया प्रति किलोमा बिक्री भइरहेको छ।
अघिल्लो साताको तुलनामा हरियो तरकारी प्रतिकेजी १० रुपैया सम्म मूल्य घटेको छ। नेपाली बजारमा भारतबाट आलु र गोलभेंडा भित्रिएपछि मूल्यमा एक्कासि गिरावट आएको लालबन्दी १५ का किसान राजन कार्कीको भनाइ छ।


“तरकारीको मूल्य दिनदिनै घटेको छ, ´यसरी मूल्य घट्दै जाने हो भने लगानी उठाउन मुस्किल पर्छ। पहिले खेतबाट बिक्री हुने तरकारी अहिले बजारसम्म पुर्‍याउँदासम्म पनि बिक्री हुँदैन। गोलभेँडा पाकेपछि धेरै दिन खेतमा राख्न पनि मिल्दैन, चिसोले बोट मर्न थालेकाले चाँडै टिपेर बजार पुर्‍याउनु पर्छ,” कार्कीले गुनासो गरे।
बरहथवा नगरपालिका – २ हजारियाका किसान हरेन्द्र महतो भन्छन, “अघिल्लो बजारमा प्रतिकेजी ७० रुपैयामा बिक्री भएको काउली अहिले १५ रुपैयामा पनि बिक्री हुँदैन, अझै खेतमा ५ कठ्ठा काउली छ। यसवर्ष लगानी उठ्ने अवस्था छैन। बाहिरका व्यापारी आउनै छाडे, स्थानीय उपभोक्तालाई बिक्री गरेर सकिदैन।


एक साता अघि काठमाडौं, पोखराबाट काउली किन्न व्यापारी आउथे, अहिले आउनै छाडे जतिसुकै सस्तो भएपनि बेच्नुपर्ने बाध्यता छ। खेतमा राख्न मिल्दैन, कुहिएर खेर जानु भन्दा सस्तोमा नै भएपनि बिक्री गर्नु पर्ने बाध्यता छ।”मुर्तियाका अर्का किसान रामनारायण महतो भन्छन्  । ´तरकारीको मूल्य घट्नाले लगानी उठाउन मुस्किल भएको उनलेे गुनासो गरे। भारतीय तरकारी भित्रिएपछि सस्तोमा बेच्नुपर्ने भएको छ। अघिल्लो बजारमा ७० रुपैयामा बिक्ने काउली अहिले १५ रुपैयामा पनि बिक्दैन।”
हरियो धनिया र प्याजको मूल्य पनि घटेको छ।

५० रुपैया प्रतिकिलोमा बिक्री भएको प्याज अहिले २५ रुपैयामा पनि बिक्री नभएर बजारबाट  फर्काए घर ल्याएको हरिपुर नगरपालिका – १ का किसान रामहरि कार्कीले बताए । यहाँ उत्पादन भएको तरकारी काठमाडौं, पोखरा, हेटौंडा, बिरगंज, नारायणगढ जस्ता सहरमा खपत हुने गरेको छ। शीत भण्डारकाे व्यवस्था नहुदा यहाँका किसानले आफ्नो उत्पादनकाे उचित मूल्य पाउन सकिरहेका छैनन् । पालिकाहरूले शीत भण्डारकाे व्यवस्था गरिदिए आफूहरूकाे उत्पादनले सहि मूल्य पाउनुकाेसाथै मूल्य स्थितिमा स्थिरता ल्याउने आउने भएकाले उपभोक्ताले समेत लाभ लिनसक्ने यहाँका किसानहरू बताउँछन् ।