सर्लाही माघ-५, जिल्लाकाे हरिपुर नगरपालिका-१, हजारविघामा जंगली हात्तीले बिहीवार र शुक्रवार राति स्थानीयको  बालीनाली नष्ट गरेको छ।
तीनवटाको संख्यामा आएको जंगली हात्तीले गाउँ प्रवेश गरेर मकै र उखु बालीमा क्षति पुर्‍याएको हो।  शुक्रवार  राति हात्तीले स्थानीय मुना लाह्योको कच्ची घर भत्काउने साथै घरमा भएको अन्न खाएर नष्ट गरेको  छ।


त्यसैगरी, हात्तीले निर्माला कार्की, अष्टम खड्का, गोपाल बस्नेतलगायतका किसानहरूको मकै, गहुँ र उखु बाली पनि नष्ट गरेको छ। जंगली हात्ती दिनभरि जंगलमा बस्ने र राति गाउँमा प्रवेश गरेर बाली नोक्सान गर्ने गरेको स्थानीय अशोक विमलीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

रातभरि जंगली हात्ती गाउँमा पस्न थालेपछि स्थानीय त्रसित भएका छन्।
हरिपुर नगरपालिका-१, जानकीनगरको जंगलमा जंगली हात्ती पसेपछि सावधानी अपनाउन सवडिभिजन वन कार्यालय मुर्तियाले स्थानीयलाई अनुरोध गरेको छ।


एक वर्षअघि, यसै जंगलमा जंगली हात्तीले घुर्कौलीमा एक जनाको ज्यान लिएको थियो। स्थानीय गोपाल बस्नेतका अनुसार,यश जंगलमा वर्षमात्र  दुईपटक जंगली हात्ती आउनेजाने  गरि सकेको छ।