राधेश्याम कुशवाहा/ सर्लाही
पुस- ८,नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल म्याचमा जनकपुर बोल्टसको जितकाे खुशीयाली मनाउने क्रममा केही अराजक व्यक्तिको आक्रमणमा परि घाइते भएका सर्लाहीका अमनकुमार सिंहलाई बलरा नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेका छन् ।
आफ्ना नगर वासी गत शनिवार अराजक व्यक्तिको आक्रमणमा परी गम्भीर घाईते भएपछि नगरपालिले आर्थिक सहयोग गर्ने घोषणा गरेको हाे ।
बलरा नगरपालिका वडा नम्वर १० सुदामा निवासी अनिलकुमार सिंहका छोरा अमनकुमार सिंह अहिले काठमाडौ स्थित दरवार हाइ स्कुलमा कक्षा १२ मा अध्ययनरत छन् ।
बलरा नगरपालिका का नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहाले एनपीएलमा नेपालकाे ८ वटै प्रदेशका टिम सहभागी रहेको भएपनि जनकपुर बोल्टसको जितलाई सहज रुपमा पचाउन नसकेका केही विभेदकारी तत्वहरु आक्रमणमा उत्रिएको बताए ।
उनलेे अझै पनि एक समुदायलाई होच्याउने र अपमान गरी आक्रमण गर्ने कार्य हुनु निन्दनिय भएको भएको बताउँदै गम्भीर घाइते सिंहको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
उदयीमान खेलाडी अमन माथि भएको सांघातिक हमलाले खेल, खेलाडी र खेलप्रेमीहरूलार्ई हतोत्साहित बनाएको बताउदै बलरा नगरपालिकाले घटनामा संलग्न दोषीलार्ई पहिचान गरि कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार संग जोडदार माग गरेको छ ।
छात्र सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको मनोबल उच्च राख्न र उपचारमा सहयोग पुर्याउन बलरा नगरपालिकाबाट ५० हजार रूपैयाँ सहयोग गर्ने नगरप्रमुख कुशवाहाले प्रतिबद्धता व्यक्त गरे । उनले आउदा दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकार सजग हुनुपर्ने समेत सुझाव दिए ।