सर्लाही,पुस-७, जिल्लाको लालबन्दी नगरपालिका–१५,
परवानिपुर स्थित देउरालीमा झगडा मिलाउन जाँदा ढुंगा लागेर घाइते भएका वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
ढुंगाले लागेर घाइते भएका स्थानीय ६५ वर्षीया विष्णुमाया बोम्जनको आइतबार उपचारका क्रममा मृत्यु भएको हो ।


प्रहरीका अनुसार मंसिर २७ गते राति घरनजिकै झगडा भएको देखेपछि छुट्याउन पुगेका ६५ वर्षीया बोम्जनलाई ईश्वरपुर नगरपालिका–१२, घारिबथानका वीरबहादुर मोक्तानले प्रहार गरेको ढुंगाले लागेर टाउकोमा गहिरो चोट लागेको थियो ।


ढुंगा प्रहार गर्ने मोक्तानलाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका वीरबहादुर नातामा मृतक विष्णुमायाको ज्वाइँ पर्छन् ।


ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक सुजन पाठकका अनुसार नियन्त्रणमा रहेका मोक्तानमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेकोमा वृद्धाको मृत्यु भएकाले कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ ।