काठमाडौं,असाेज-११,महालेखा नियन्त्रक कार्यालयको अनुमति र अर्थ मन्त्रालयले रकम बाँडफाँट गरी पठाएपछि उखु तथा दूध किसानले पाउन बाँकी झन्डै दुई अर्ब रुपैयाँ दशै अघिनै पाउने भएका छन् ।
कृषि मन्त्रालयले आजै रकमान्तर गरी सम्बन्धित आठ वटै जिल्लाका उखु किसानलाई भुक्तानी दिन एक अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै रकम पठाएको हाे ।
सर्लाही, महोत्तरी,रौतहट, बारा, सिराहा ,सुनसरी,कञ्चनपुर र नवलपरासी पश्चिम, जिल्लाका उखु किसानले पाउनुपर्ने बाँकी अनुदानको रकम सम्बन्धित जिल्लालाई पठाएको छ ।
वक्याैता भुक्तानी प्रयाेजनकाे लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण लगानीको तमसुक तथा भुक्तानीका लागि अनुमति दिएको दिएको थियो ।
अब सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम बाँडफाँट स्वीकृत पाएको छ । योसँगै उखु किसानले अनुदानबापत पाउनुपर्ने रकम दशैँअघि नै पाउने भएका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दूध तथा उखु किसानलाई दशैँअघि नै भुक्तानी गर्ने प्रतिबद्धता गर्दै आएका थिए ।
दुग्ध विकास संस्थान (डीडीसी) लाई दूध किसानको बक्यौता रकम तिर्नका लागि सर्तसहित ६० करोड रुपैयाँ ऋण दिने प्रस्ताव यसअघि नै स्वीकृत भएको थियो ।
दूधको बाँकी भूक्तानीका लागि प्रक्रिया पूरा भएको र सरकारले ऋणबापत दिएको ६० करोड रुपैयाँ दशैँअघि नै वितरण शुरू हुने डीडीसीले जनाएको छ ।