सर्लाही,चैत —२ । उद्योग वाणिज्य संघ लालबन्दीले आगामी चैत ४ गतेदेखि चैत १५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो लालबन्दी महोत्सव २०८२ को सन्दर्भमा सामाजिक सञ्जाल तथा केही राजनीतिक समूहबाट आएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले साेमवार (आज) जारी गरेको विज्ञप्तिमा महोत्सवबारे तथ्यहीन र पूर्वाग्रही टिप्पणी नगर्न आग्रह गर्दै महोत्सवलाई सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ।


संघका अध्यक्ष महेश कुमार महतोद्वारा जारी विज्ञप्तिमा विगत दुई वर्षदेखि लालबन्दी क्षेत्रमा उद्योग, व्यापार, कला, संस्कृति, पर्यटन तथा विभिन्न जातजाति र धर्मबीचको सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको उल्लेख गरिएको छ। महोत्सवमार्फत स्थानीय उत्पादन, कृषि, उद्यमशीलता तथा सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै आएको संघको दाबी छ।


विज्ञप्तिमा लालबन्दी नगरपालिकाले महोत्सव प्रवर्द्धनका लागि विनियोजन गरेको बजेटबारे अनावश्यक विवाद सिर्जना गरिएको उल्लेख गरिएको छ। संघका अनुसार कृषि तथा उद्यमशीलतासँग सम्बन्धित स्टलहरू सञ्चालन गर्नसमेत नगरपालिकाले उपलब्ध गराएको बजेट पर्याप्त नभएको अवस्था रहेको छ। यसका बाबजुद पनि स्थानीय उत्पादन र कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको संघले जनाएको छ।

संघले केही पक्षले महोत्सवमा कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन नभएको आरोप लगाएकोप्रति असहमति जनाएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार विगतका महोत्सवहरूमा ती विषयहरूलाई प्राथमिकतामा राखिएको  र आगामी महोत्सव अवधिभर पनि यस्ता गतिविधि सञ्चालन हुनेछन्। उद्घाटनअघि नै सबै कार्यक्रम सम्पन्न हुन नसक्ने भएकाले पूर्वाग्रह राखेर विरोध गर्नु उचित नभएको संघले जनाएको  छ।
महोत्सवमा हुने गीत, संगीत, खेलकुद, कला तथा साहित्यिक कार्यक्रमलाई अश्लीलताको दृष्टिले मात्र नहेरी सम्मान र मनोरञ्जनको दृष्टिले हेर्नु संघले आग्रह गरेको छ।
विश्व तथा नेपालमा विभिन्न मेला, महोत्सव तथा रियालिटी शोमार्फत उदाएका कलाकारहरूले नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको उल्लेख गर्दै यस्ता सांस्कृतिक गतिविधिहरूलाई सकारात्मक रूपमा लिन आग्रह गरिएको छ।
संघका अनुसार महोत्सवमा मधेश प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिनेछ, जसले स्थानीय प्रतिभाको खोज, अवसर र प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। महोत्सवको आकर्षणका रूपमा राखिएको “लण्डन ब्रिज” को प्रतिकृतिलाई पनि अन्तर्राष्ट्रिय पर्यटनको प्रतीकका रूपमा प्रस्तुत गरिएको जनाइएको छ। यसलाई स्थानीय स्तरमा देखाउनु लालबन्दीको गरिमामा नकारात्मक प्रभाव पार्ने विषय नभएको संघले स्पष्ट पारेको छ।


विज्ञप्तिमा स्थानीय सरकारले उद्योग, व्यापार, कला, साहित्य र खेलकुदलाई प्रवर्द्धन गर्न बजेट विनियोजन गर्नु समृद्ध नगर निर्माणका लागि आवश्यक कदम भएको उल्लेख गरिएको छ। निजि क्षेत्रको योगदानबिना आर्थिक समृद्धि सम्भव नहुने भन्दै संघले निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण राख्न आग्रह गरेको छ।
संघले विगतमा जस्तै सबै सरोकारवालासँग विस्तृत अन्तरक्रिया, सुझाव र सल्लाह सङ्कलन गर्न नसकेकोमा दु:ख व्यक्त गरेको छ। देशको समसामयिक परिस्थिती, आम निर्वाचन तथा मत परिणाम लगायत कारणले यस्तो कार्यक्रम गर्न असमर्थ भएको उल्लेख गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ।
महोत्सव मूल आयोजक समितिका संयोजक दीपेन्द्र कुमार बलम्पाकीले महोत्सवलाई सफल बनाउन सम्पूर्ण उद्योगी, व्यापारी तथा नगरवासीलाई आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्।
तेस्रो लालबन्दी महोत्सव केवल लालबन्दी नगरको मात्र नभई समग्र मधेश प्रदेशकै गौरवका रूपमा स्थापित गर्ने लक्ष्य रहेकाे  संघले जनाएको  छ।