
सर्लाही, वैशाख— १४ । सर्लाहीको लालबन्दीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका–१५ झरझरा पिडखोल्सीका करिब ३२ वर्षीय युवक प्रेमबहादुर थिङ (दावा) को आईतवार साँझ बँदेलको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका नुसार वैशाख १३ गते साँझ करिब ५ बजे थिङ आफ्नै मकैबारीमा पुगेका थिए। सो क्रममा जंगली बँदेलले बालीमा क्षति पु¥याइरहेको देखेपछि उनले उक्त बँदेललाई लखेट्न खोजेका थिए । तर बँदेललाई पछ्याउँदै जाने क्रममा पिडखोल्सी क्षेत्रमै बँदेलले एक्कासी आक्रमण गर्दा थिङ गम्भीर घाइते भएका थिए। घटनापछि परिवारजन तथा स्थानीयवासीले तत्कालै उनलाई उपचारका लागि लालबन्दीतर्फ ल्याएका थिए । उपचारको लागि ल्याउदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव आफन्तले घरमै ल्याएर राखेको जानकारी प्रप्त भएपति साँझ करिब ७ः३० बजे अस्थायी प्रहरी पोस्ट परवानीपुरबाट प्रहरी सहायक निरीक्षक उमाशंकर यादवको कमाण्डमा टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त टोलीले घटनास्थल पुगेर शव सुरक्षित राख्नुका साथै प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा अपराध स्थल निरीक्षण (क्इऋइ) सहित सात जनाको टोली समेत घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घटनास्थलको आवश्यक परीक्षण तथा विवरण संकलन गरेको जनाएको छ । यसैबीच, राति करिब ११ः१० बजे मुचुल्का प्रक्रिया सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जानकारी दिएको छ। शव परीक्षणपछि मात्र मृत्युको आधिकारिक कारण खुल्ने भए पनि बँदेलको आक्रमणबाटै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

स्थानीयवासीका अनुसार पछिल्लो समय सो क्षेत्रमा जंगली जनावरको आतंक बढ्दै गएको छ। विशेषगरी बँदेलले मकैबारी लगायतका बालीमा क्षति पु¥याउने र मानिसमाथि समेत आक्रमण गर्ने घटना बढेको गुनासो गरेका छन् । घटनापछि स्थानीय त्रसित भएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । सम्बन्धित निकायले जंगली जनावरको नियन्त्रण तथा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न आवश्यक रहेको स्थानीयले बताएका छन्









