काठमाडौ‌ं, चैत- ३ । स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सहकार्य अघि बढाइएको छ।

दुवै निकायबीच राष्ट्रिय परिचय नम्बरलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार अब स्वास्थ्य बीमा बोर्डले ‘राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली’ मार्फत विद्युतीय सेवा प्रयोग गर्न सक्नेछ।

यससँगै नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गर्ने प्रक्रिया सुरु हुने बताइएको छ।
स्वास्थ्य बीमा प्रणालीमा राष्ट्रिय परिचय नम्बर आबद्ध भएपछि सेवा अझ सुरक्षित, छिटो र भरपर्दो हुने विश्वास गरिएको छ। यस व्यवस्थाले स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रियामा हुने झन्झट घटाउने अपेक्षा गरिएको छ।

अब परिचयपत्रमा रहेको विवरणकै आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन्। साथै तथ्यांक एकीकरणमा समेत सहयोग पुग्ने र एउटै व्यक्तिको दोहोरो दर्ता हुने समस्या नियन्त्रण हुने विश्वास लिइएको छ।

सरकारी सेवाहरूलाई एकीकृत गर्दै डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यअनुसार अघि बढाइएको यो सहकार्यले स्वास्थ्य बीमाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। बीमा बोर्डले स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी गरिरहेका बेला भएको यो समझदारीले ‘डिजिटल नेपाल’ अभियानलाई पनि बल पुर्‍याउने देखिएको छ।