गोडैता, वैशाख- २७ । सर्लाहीको गोडैता नगरपालिका अन्तर्गत हुलाकी सडक खण्ड नजिक एक पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको छ ।
गोडैता नगरपालिका–६ स्थित बग्दह चिनिमिल नजिक सडक छेउमा बेवारिसे अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।


इलाका प्रहरी चौकी गोडैताका अनुसार आइतवार अपराह्न करिब ४ः३० बजे स्थानीयवासीले सडक किनारमा दुर्गन्ध फैलिएको तथा एक व्यक्तिको शव रहेको प्रहरीलाई जानकारी दिएका थिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट प्रहरी वरिष्ठ हवल्दार होरिल राय यादवको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।


प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गर्दा करिब ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जनाएको छ ।
मृतकको नाम, थर र ठेगाना तत्काल खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ । शव लामो समयदेखि सडक छेउमै रहेको अनुमान गरिएको छ ।सडक छेउमा शव भेटिए पछि स्थानीयवासी त्रसित भएका छन् ।


घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक विशाल बहादुर बुढाथोकीको कमाण्डमा विशेष टोली खटिएको छ । घटनास्थलमा अपराध अनुसन्धानतर्फको विज्ञ टोली (SOCO समेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शवको पहिचान खुलाउने प्रयास भइरहेको तथा पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
घटनाको प्रकृति हेर्दा मृत्युको कारण तत्काल खुल्न सकेको छैन घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।