मनोज बख्रेल….✍️
प्रतिनिधि सभा निर्वाचन–२०८२ को परिणाम आयो।
देशभर उत्सव, निराशा र बहस चलिरहेका थिए।
कसैका घरमा बाजा बजिरहेका थिए, कसैका घरमा सन्नाटा थियो।


एकजना चर्चित नेता भने गहिरो मौनतामा डुबेका थिए।
वर्षौंदेखि भाषण, नाराबाजी र शक्ति प्रदर्शनको बीचमा बिताएको जीवन अचानक खाली जस्तो लाग्न थालेको थियो।
सधैं “जनताले साथ दिन्छन्” भन्ने विश्वास एकै झट्कामा चकनाचुर भएको थियो।


घरमा समर्थकहरूको भीड घट्दै गयो। फोनहरू पनि कम आउन थाले।
अन्ततः नजिकका साथीहरूले भने,
“केही दिन कतै जानुस्, मन हलुका हुन्छ।”
त्यसपछि नेताजी एक्लै पहाडतिर लागे।
पहाडको बाटो फरक थियो।
त्यहाँ न नारा थिए, न ताली।
केवल सुसाउने हावा, बग्ने खोला र टाढा मुस्कुराइरहेका हिमाल थिए।


दिनभरि हिँड्दा उनको मन पनि बिस्तारै हल्का हुँदै गयो।
साँझपख उनी एउटा सानो गाउँमा पुगे।
त्यहाँ एउटा किसान जस्तो देखिने युवक खेतको छेउमा बसेर माटो समाउँदै केही गमिरहेको थियो।
नेताजी नजिकै पुगे र सोधे,
“के गर्दैछौ भाइ?”
युवकले सहज स्वरमा उत्तर दियो,
“भोलिको लागि बीउ छान्दैछु।”
नेताजीले सोधे,
“आजको बाली त काटिसक्यौ जस्तो छ, अब आराम नगरेको?”
युवक हाँस्यो,
“बाली काटेपछि अर्को बालीको तयारी गर्नुपर्छ नि हजुर। किसानको काम यही हो।”
नेताजी केही क्षण चुप रहे।
फेरि जिज्ञासु भएर सोधे,
“तिमीलाई कहिल्यै डर लाग्दैन?
यदि बाली फलेन भने?”
युवकले शान्त स्वरमा भन्यो,
“फलेन भने अर्को वर्ष फेरि रोपिन्छ।
किसानले हार माने भने खेत बाँझो हुन्छ।”
नेताजी गहिरो सोचमा परे।
युवकले उल्टै सोध्यो,
“हजुर के गर्नुहुन्छ?”
नेताजी केही क्षण अलमलिए।
पहिलोपटक उनले आफ्नो पहिचान लुकाउँदै भने,
“म पनि जनताको काम गर्ने मान्छे हुँ… तर भर्खरै हारें।”
युवक मुस्कुरायो।
उसले माटो समाउँदै भन्यो,
“हजुर, यो माटो जस्तो हुन्छ जीवन।
कहिलेकाहीँ पानी धेरै पर्छ, कहिलेकाहीँ खडेरी हुन्छ।
तर किसानले खेती छोड्दैन।”
उसले थप्यो,
“हार त बीउ जस्तै हो।
आज जमिनभित्र गाडिन्छ,
भोलि अंकुरिएर फेरि माथि आउँछ।”
नेताजी चुपचाप सुन्दै थिए।
युवकले अन्तिममा भन्यो—
“तर एउटा कुरा चाहिँ सम्झनुहोस् हजुर…
बीउ अंकुरिनु हो भने माटोसँग नजिक हुनुपर्छ।
आकाशतिर मात्रै हेरेर खेती हुँदैन।”
त्यो रात नेताजी धेरै बेरसम्म सुत्न सकेनन्।
उनी सम्झिरहेका थिए—
भाषण धेरै गरे,
तर सायद जनताको माटोसँग टाढा हुँदै गए।
भोलिपल्ट बिहान पहाडको टुप्पोबाट सूर्य उदाउँदै थियो।
पहिलोपटक उनलाई लाग्यो—
हार अन्त्य होइन,
जनतासँग फेरि जोडिने अवसर हो।
हिमाल टाढाबाट मुस्कुराइरहेका थिए,
मानौँ भनिरहेका थिए—
“साँचो नेता चुनाव जितेर होइन,
हारबाट सिकेर बन्छ।”

लालबन्दी -९, सर्लाही