ईश्वरपुर, बैशाख- ९ । समाजसेवाको भावना बोकेका प्रवासी नेपालीको पहलमा सर्लाहीका दुई अशक्त व्यक्तिले ह्वीलचेयर सहयोग पाएका छन्।
डेनमार्कको कोपेनहेगन निवासी भुवन ध्वज थापाद्वारा प्राप्त आर्थिक सहयोगबाट ईश्वरपुर नगरपालिका–८ निवासी शहदेब कार्की र लालबन्दी नगरपालिका–९ निवासी रत्न बहादुर पाख्रीनलाई बुधबार एकरएक थान ह्वीलचेयर प्रदान गरिएको हो।


उक्त सहयोग कार्यक्रममार्फत शारीरिक रूपमा अशक्त तथा आर्थिक रूपमा विपन्न अवस्थाका व्यक्तिहरूलाई लक्षित गरि प्रदान गरिएको लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिक्टका एरिया को–अर्डिनेटर राजकुमार न्यौपाने जानकारी दिए ।
उनले भने, “यस्ता सहयोगले दैनिक जीवनयापनमा सहजता ल्याउनुका साथै आत्मनिर्भर बन्न थप हौसला प्रदान गर्छ।”ह्वीलचेयर प्राप्त गरेपछि कार्की र पाख्रीनले अत्यन्तै खुसी लागेको बताउदै ह्वीलचेयरले आफूलाई हिँडडुलमा सहजता ल्याउने बताए । यसअघि हिँडडुल गर्न कठिनाइ भोग्दै आएका उनीहरूका लागि ह्वीलचेयर ठूलो राहत पुगेको स्थानीयले बताए।

समाजसेवी भुवन ध्वज थापाले यसअघि पनि सर्लाहीका विभिन्न स्थानमा अशक्त, ज्येष्ठ नागरिक तथा विपन्न समुदायका लागि सहयोग गर्दै आएका छन्।
उनको पहलमा,अशक्त परिवारको घर निर्माण, स्वास्थ्य सामग्री वितरण, शैक्षिक सहयोगजस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

स्थानीय बासिन्दाले यस्ता कार्यले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन्। उनीहरूले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन अन्य व्यक्तिहरूलाई पनि प्रेरणा मिल्ने बताएका छन्।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। उनीहरूले सहयोगी हातहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने अपेक्षा गरेका छन्।