लालबन्दी, बैशाख- ९ । मधेस प्रदेश सरकारअन्तर्गत खेलकुद तथा समाजकल्याण मन्त्रालयको व्यावसायिक सीप विकास केन्द्र, जनकपुरधाम धनुषाको आयोजनामा महिलाहरूका लागि निःशुल्क केश श्रृंगार ९ब्युटी पार्लर० सम्बन्धी तालिम लालबन्दीमा सुरु गरिएको छ।
उद्योग वाणिज्य संघ, लालबन्दीका अध्यक्ष महेश कुमार महतोको अध्यक्षतामा तथा संघका संस्थापक अध्यक्ष देवीबन्धु थापाको प्रमुख आतिथ्यतामा आयोजित एक समारोहबीच तालिम कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो।

३९० घण्टा अर्थात् ६५ दिनको अवधिमा सञ्चालन हुने यस तालिममार्फत सहभागी महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गरी स्वरोजगारतर्फ अभिमुख गराउने मुख्य उद्देश्य राखिएको अध्यक्ष महतोले चियोचर्चो दैनिकलाई जानकारी दिए । तालिममा केश कटिङ, हेयर स्टाइलिङ, मेकअप, फेसियल, स्किन केयरलगायत ब्युटी पार्लरसँग सम्बन्धित विविध व्यावसायिक ज्ञान तथा सीप सिकाइनेछ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले महिलाको आर्थिक सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिम अत्यन्तै महत्वपूर्ण हुने बताए। उनले सीप आर्जन गरेपछि महिलाहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने र आत्मनिर्भर बन्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे। त्यसैगरी अध्यक्ष महतोले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
स्थानीय समन्वय उद्योग वाणिज्य संघ, लालबन्दीले गरेको तालिम संघकै सभाहलमा सञ्चालन हुने भएको छ ।
तालिममा सहभागी महिलाहरूलाई व्यावहारिक अभ्यासमा जोड दिइने भएकाले उनीहरूले तालिमपछि तुरुन्तै काम गर्न सक्ने आयोजकको विश्वास छ।

हालसम्म विभिन्न क्षेत्रमा सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको व्यावसायिक सीप विकास केन्द्रले यस तालिममार्फत ग्रामीण तथा शहरी क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। तालिम बेरोजगार तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका महिलाहरूलाई प्राथमिकता राखी सञ्चालन गरिएको आयोजकले जनाएको छ।
यस्ता तालिम कार्यक्रमले आफूहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने सहभागी हरूको भनाइ छ । सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै सानो लगानीमै व्यवसाय सुरु गर्न सहज हुने भएकाले यसको प्रभाव दीर्घकालीन हुने विश्वास गरिएको छ।
तालिमले लालबन्दी क्षेत्रका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।