हरिवन, माघ २२ । ‘समयमै पत्ता लगाऔँ, स्वस्थ जीवन अपनाऔँ’ भन्ने नाराका साथ हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा नसर्ने रोगको निःशुल्क स्क्रिनिङ अभियान बिहिवारदेखि सुरु भएको छ।
यसका लागि आवश्यक उपकरणको नगरभित्रका सबै वडाका स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

अभियान अन्तर्गत ३० वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरूको मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग तथा शरीरको उचाइ–तौल अनुपात (बीएमआई) परीक्षण गरिँदैछ। साथै नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि वडावडामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । अभियानको पहिलो दिन ३८० जनाले सेवा लिएका छन्, जसमा २४३ जना महिला र १३७ जना पुरुष रहेका छन्।


अभियान निर्देशिका २०८१ अनुसार ओपीडी सेवामा आउने ३० वर्षभन्दा माथिका सबै व्यक्तिहरूलाई लक्षित गरी स्वास्थ्य संस्थामा परीक्षण तथा समुदायस्तरमा घरदैलो सेवा कार्यक्रमसँगै अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ।
यसैबीच, विभिन्न स्वास्थ्य संस्थाहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको विद्यालय केन्द्रित एचपीभी खोप अभियान सम्बन्धी वडास्तरीय अभिमुखीकरण, योजना तर्जुमा गोष्ठी तथा खोप समन्वय समिति र सरोकारवालासँग अन्तरक्रिया बैठक सम्पन्न गरिएको नगर स्वास्थ शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रम आजदेखि सुरु गरिने जनाइएको छ । स्वास्थ्य शाखाका अनुसार यस अभियानमार्फत करिब १० हजार जनाको नसर्ने रोगको प्रारम्भिक परीक्षण, व्यवस्थापन तथा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।
यसअघि हरिवन नगरपालिकाले माघ १९ गते सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनअनुसार फागुन महिनामा सञ्चालन हुँदै आएको नसर्ने रोग स्क्रिनिङ अभियान आम निर्वाचनको तालिका सार्वजनिक भएकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा माघ महिनामा सञ्चालन गरिएको जानकारी गराएको थियो।