राजिव साह/सर्लाही 
माघ—२२ । जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा जिल्लाभरका पालिकाका कृषि तथा पशु शाखा प्रमुखहरूसँग अन्तक्र्रिया गरिएको छ। जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौल किशोर सिंहको अध्यक्षतामा मलंगवा स्थित जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र महतो, जिल्ला समन्वय अधिकारी कमल बहादुर कार्की, कृषि परियोजना कार्यान्वयन राष्ट्रिय इकाइका प्रमुख डा. सुरेन्द्र यादव, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख डा. मुनि राउत, समिति सदस्यहरू तथा जिल्लाका २० वटै पालिकाका कृषि तथा पशु शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।


अन्तक्र्रिया कार्यक्रममा गत आर्थिक वर्ष २०८०÷८१ तथा चालु आर्थिक वर्षको पुस महिनासम्म सञ्चालन भएका कृषि तथा पशु विकास सम्बन्धी कार्यक्रम, बजेट खर्चको अवस्था र उपलब्धि सम्बन्धी प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौल किशोर सिंहले जिल्लामा सञ्चालन भएका विकास निर्माण तथा कृषि,पशु क्षेत्रका कार्यक्रमहरूको हरेक वर्ष समीक्षा गर्दै अन्तक्र्रिया गर्दै आएको बताए ।

कार्यक्रममा उठेका जिज्ञासा र देखिएका समस्या समाधानका लागि जिल्ला समन्वय समिति गम्भीर रहेको उनले बताए ।
यसैगरी उपप्रमुख जितेन्द्र महतोले कृषि क्षेत्रमा अझै पर्याप्त बजेटको अभाव रहेको र स्थानीय तहमा दक्ष जनशक्तिको कमी चुनौतीका रूपमा रहेको उल्लेख गरे ।

जिल्ला समन्वय समिति सर्लाहीका सुब्बा संजय विश्वकर्माका अनुसार समितिले माघ २० गते जिल्लाका पालिका प्रमुखहरूसँग, माघ २१ गते गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग तथा माघ २२ गते कृषि तथा पशु शाखा प्रमुखहरूसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको हो।