
लालबन्दी, माघ २२ । सर्लाहीको लालबन्दी नगरपालिका–७ मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडमा दिउँसै हतियारधारी समूहले लुटपाट गरेको छ। बिहीबार दिउँसो करिब ३ः२५ बजे मास्क लगाएका ४–५ जनाको समूहले कार्यालयभित्र प्रवेश गरी लुटपाट गरेको हो। लुटपाटका क्रममा कार्यालय प्रमुख सुवास न्यौपानलाई देब्रे पाखुरामा छुरा प्रहार गरी घाइते बनाइएको छ।
![]()
लुटेरा समूहले करिब १ लाख रुपैयाँ नगद, दुई थान मोबाइल र सिसिटिभी क्यामराको डिभाइस लुटेर लगेको कर्मचारीहरूले बताएका छन्। खुकुरी र पेस्तोलसहितको हतियार प्रयोग गरिएको जनाइएको छ।
![]()
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार ऋणीबाट संकलन गरिएको रकम लुटिएको सूचना प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिउँसै हतियारधारी समूह प्रवेश गरेर वित्तीय संस्था लुटिएपछि स्थानीयवासी त्रसित बनेका छन्।











