![]()
बरहथवा, माघ— २२ । सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय बरहथवा परिसरभित्र नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन सञ्चालनमा आएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवा प्रवाहलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको उक्त भवनको बिहीवार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । भवनको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै महानिरीक्षक कार्कीले सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले प्रहरीबाट प्राप्त गर्ने सेवा थप व्यवस्थित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले समाजमा बढ्दै गएको लैङ्गिक हिंसा, घरेलु हिंसा, बालअधिकार उल्लङ्घन तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित घटनामा प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउने दिशामा यो सेवा केन्द्र महत्वपूर्ण हुने बताए। कार्यक्रममा प्रमुख अतिथि कार्कीले रिबन काटेर भवनको विधिवत् उद्घाटन गरेका थिए ।
![]()
इलाका प्रहरी कार्यालय बरहथवा परिसरभित्र निर्माण गरिएको उक्त भवन बेलायत सरकारको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालयद्वारा सञ्चालन गरिएको सुरक्षा तथा न्याय कार्यक्रम परियोजना अन्तर्गत निर्माण गरिएको हो। सेवा केन्द्र भवनमा पीडितमैत्री कक्ष, परामर्श कक्ष, उजुरी दर्ता कक्षलगायत आवश्यक संरचना रहेका छन्।
नवनिर्मित सेवा केन्द्र सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित मुद्दामा गोपनीयता, संवेदनशीलता र छिटो सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया , बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमरी कटुवाल, ,सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोईराला, संयुक्त राष्ट्र परियोजना सेवा कार्यालयका सञ्चालन संयोजक इन्द्र न्यौपाने, परियोजना व्यवस्थापक शिशिर उपाध्यायलगायतकोे उपस्थिति रहेको थियो।

त्यसैगरी बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्दिप्रकाश सिटौला, पूर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवारजन, उद्योग वाणिज्य संघ बरहथवाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विभिन्न विद्यालय तथा संघसंस्थाका प्रतिनिधिको समेत कार्यक्रममा सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।









