
मलंगवा, माघ– १ गते । जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।
कारागार व्यवस्थापन कार्यालय जलेश्वर, महोत्तरीमा लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सर्लाही जिल्ला हरिवन नगरपालिका–३, डाबरी टोल निवासी अन्दाजी ३४ वर्षका फेकन साह तेली जेन्जी आन्दोलनको क्रममा कारागारबाट भागी फरार भएका थिए।

फरार थुनुवा आफ्नै गाउँघरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीबाट प्रहरी टोली खटिएको थियो। सोही टोलीले माघ १ गते साँझ करिब ५ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका फेकन साह तेलीलाई आवश्यक कारबाहीका लागि कारागार व्यवस्थापन कार्यालय मलंगवा, सर्लाही पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।











