
लालबन्दी, माघ १ गते । नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ पार्टीको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन भएका छन्। सभापति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत गठन भएको केन्द्रीय कार्यसमितिमा श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

राजनीतिमा सक्रिय पारिवारिक पृष्ठभूमि भएका श्रेष्ठका पिता स्वर्गीय गोपिलाल श्रेष्ठ २०२६ देखि २०४६ सालसम्म तत्कालीन पत्थरकोट गाउँपञ्चायतमा पाँच पटक निर्वाचित प्रधानपञ्च थिए। उनीमाथि कांग्रे भएकैकारण त्कालिन समयमा माओवादी विद्रोही समूहबाट आक्रमणसमेत भएको उनी निकट नेताहरु बताउछन् ।

नागरिकताअनुसार २०१८ साल पुस १८ गते जन्मिएका श्रेष्ठ युवावस्थामै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएका थिए। बहुदलीय व्यवस्था आएपछि सम्पन्न २०४९ र २०५४ सालको गाविस निर्वाचनमा कांग्रेसबाट निर्वाचित भई उनी दुई पटक गाविस अध्यक्ष बने। सर्लाही क्षेत्र नम्बर १ मा बलियो राजनीतिक पकड बनाएका श्रेष्ठ २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि तत्कालीन माओवादी पार्टीबाट उम्मेदवार बनेर नेकपा एमालेका तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेपछि देशभर चर्चामा आएका थिए।

माओवादी पार्टीमा करिब तीन–चार वर्ष सक्रिय रहेका श्रेष्ठलाई त्यस क्रममा ऊर्जा राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो। सोही समयमा लालबन्दी–१ नवलपुरमा विद्युत् सबस्टेशन स्थापनाका लागि पहल गरी सफल बनाएको कांग्रेस नेता रामबाबु साहले बताए।
पछि उनी पुनः आफ्नै पुरानो पार्टी नेपाली कांग्रेसमा फर्किए। फर्किएलगत्तै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पशुपंछी राज्यमन्त्रीमा नियुक्त गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–१ बाट प्रतिस्पर्धा गरेका श्रेष्ठले करिब २० हजार ७५ मत प्राप्त गरे पनि राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साहसँग पराजित भएका थिए। सोही अवधिमा उनको निवासमा अज्ञात समूहद्वारा विस्फोटसमेत गरेको थियो।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जित्ने सम्भावना हुँदाहुँदै पनि गठबन्धनका कारण टिकट नपाएको भन्दै उनी केन्द्रीय नेतृत्वसँग असन्तुष्ट बनेका थिए। केन्द्रको समीकरणअनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले टिकट पाएको र रामप्रकाश चौधरी निर्वाचित भएका थिए।

श्रेष्ठले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए तर थोरै मतले पराजित भएका थिए। यद्यपि, पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशनमा उनी केन्द्रीय सदस्यमा चयन हुन सफल भएका छन्। यसअघि पनि माओवादीबाट फर्किएपछि देउवाले उनलाई आमन्त्रित केन्द्रीय सदस्य बनाएका थिए।
कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंह, कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहलगायत नेताहरूको नेतृत्वमा ६८ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सक्रिय रूपमा सहभागी भएका थिए। कांग्रेस मधेश प्रदेश समिति सदस्य रामबाबु साहका अनुसार १४औँ महाधिवेशनमा रहेका सर्लाहीका १०४ जना प्रतिनिधिमध्ये करिब ७० प्रतिशतले विशेष महाधिवेशनमा हस्ताक्षर गरेका थिए।
केन्द्रीय सदस्यमा निर्वाचित भएका श्रेष्ठ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको नव निर्वाचित नेतृत्वको हस्ताक्षरसहित टिकट लिएर सर्लाही क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा छन्। उनको जित सुनिश्चित रहेको कांग्रेस नेता रामबाबु साहको दाबी छ ।









