
लालबन्दी,माघ २ गते । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि त्यसको खुसीयालीमा सर्लाहीका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ । जिल्लाको लालबन्दी, ईश्वरपुरलगायत स्थानमा दीप प्रज्वलन गरिएको हो।

आयोगको शुक्रवार साँझ बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेसँगै देशमा विद्यमान बेथितिको अन्त्य हुने विश्वास व्यक्त गर्दै कांग्रेस सर्लाहीका जिल्ला तथा स्थानीय नेताकार्यकर्ताहरूले दीप प्रज्वलन गरेका हुन् ।

दीप प्रज्वलनपछि मन्तव्य राख्दै नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ (ख) का सभापति सिताराम दाहालले विधानको अधीनमा रहेर विशेष महाधिवेशनलाई आधिकारिकता दिएकोमा निर्वाचन आयोगप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले आधिकारिकतासँगै देशमा ‘गगन युग’ को सुरुवात भएको प्रतिक्रिया दिँदै पार्टी र देशले नयाँ दिशा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएको र त्यसको आधिकारिकताको विरोधमा कसैले आन्दोलन गरेमा सशक्त प्रतिकार गरिने कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य विभू सिंह थापाले चेतावनी दिए।

दीप प्रज्वलन कार्यक्रममा नगर सभापति प्रशान्त आचार्य, तरुण दलका केन्द्रीय सदस्य विभू सिंह थापा, लालबन्दी–४ का वडा सभापति सहदेव केसी, वडाध्यक्ष गोपाल कार्की, आदित्य मैनाली, नेविसंघ जनज्योति बहुमुखी क्याम्पस इकाइ सभापति निर्मल अधिकारी (सफल) लगायत नेताकार्यकर्ताको सहभागिता रहेको थियो।
उता गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि देउवा पक्षले यसलाई षड्यन्त्रको संज्ञा दिँदै सबै कानुनी तथा राजनीतिक लडाइँ लड्ने बताएको छ।









