
मलंगवा, पुस- २९ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले इजाजत प्राप्त हातहतियार बुझाउन जरुरी सूचना जारी गरि आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाका अनुसार आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सो निर्णय गरिएको हाे।

जिल्ला प्रशासनद्वारा जारी सूचनाअनुसार सर्लाही जिल्ला भित्र इजाजत प्राप्त हातहतियार धनी व्यक्तिहरूले आफूसँग रहेका सबै प्रकारका हातहतियारहरू सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अनिवार्य रूपमा बुझाउन भनिएको छ।

प्रशासनले बुझाइएका हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता दिने गरी सुरक्षित रूपमा राखिने जनाएको छ। तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा वा आदेशको अवज्ञा गरेमा प्रचलित कानून बमोजिम हातहतियार जफत गरी कानूनी कारबाही अगाडि बढाइने चेतावनी समेत सूचना मार्फत दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सबै इजाजत प्राप्त हातहतियार धनीहरूलाई सूचनाको पालना गरी निर्वाचनलाई शान्तिपूर्ण बनाउन सहयोग गर्न आग्रह गरेको छ।









