ईश्वरपुर,पुस—१९ । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु मृत अवस्थामा फेला परेका छन् । ईश्वरपुर नगरपालिका–वडा नम्बर —२ राईटरखोर निवासी बेचु महतोका छोरा करिब ४७ वर्षीय रामईश्वर महतोको शव सागरनाथ वन क्षेत्रमा फेला परेको हो ।


प्रहरीका अनुसार पौष १९ गते बिहान करिब ५ बजे सागरनाथ वन क्षेत्रमा कसैले काठ काटिरहेको सूचना पाएपछि महतो आफ्नै घरबाट साइकलमा वनतर्फ गएका थिए । तर उनी घर नफर्किएपछि आफन्तहरूले खोजतलास सुरु गरेका थिए ।
खोजतलासका क्रममा दिउँसो करिब ३ बजे मृतकका ज्वाइँ वीर बहादुर सिंहले सागरनाथ वन विकास परियोजनाको १० नम्बर प्लटको बाटोबाट करिब १०० मिटर पूर्वतर्फ झाडीमा महतोको शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भक्तिपुरबाट प्रहरी प्र.ना.नि. परिक्षण यादवको कमाण्डमा प्रहरी टोली र पछि इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा घटनास्थलमा प्रमाण संकलन गर्ने टोली परिचालन गरिएको थियो ।


थप अनुसन्धानका लागि केनाइन शाखा लालगढ, धनुषाबाट प्रहरी हवल्दार राजु कुमार पाण्डेको कमाण्डमा पाँच जना प्रहरी र दुईवटा खोजी कुकुरसहितको टोली साँझ सवा ५ बजेर तिर घटनास्थलमा परिचालित गरिएको थियो । पछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी नायब उपरीक्षक सरोज राईको कमाण्डमा समेत थप टोली परिचालन गरिएको गरिएको थियो ।


अनुसन्धानका क्रममा मृतकको टाउको काटिएको अवस्थामा शव फेला परेको र टाउकोको भाग हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार अनुसन्धानको लागि ल्याइएको कुकुर पोखरी छेउसम्म पुगे फर्किएकोले टाउको पोखरी तिरै फलेको हुनसक्ने अनुमान छ । घटनाको सुक्षम ढंगबाट अनुसन्धान भइरहेको सर्लाही प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एवम् डीएसपी सरोज राईले जानकारी दिए । प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको र थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।