लालबन्दी,पुस—१८ । लालबन्दी नगरपालिकाका विभिन्न वडामा विगत केही महिनादेखि घरधनी नभएको मौका छोपी ताल्चा फोडी चोरीका घटनामा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले सूक्ष्म अनुसन्धान तथा निगरानीका क्रममा चोरीका गरगहना खरिद–बिक्रीमा संलग्न व्यक्तिहरूको पहिचान गरेको हो।

अनुसन्धानका क्रममा जिल्लाको लालबन्दी नगरपालिका वडा नं. ७ स्थित आर.के. ज्वेलर्सका सञ्चालक लालबन्दी–१० चन्द्रपुर बस्ने अन्दाजी ४२ वर्षका रमेश विक र वडा नं. ६ स्थित साईरा ज्वेलर्सका सञ्चालक अन्दाजी ३१ वर्षका कुमार विकले सुनको बिल भरपाई नभएका गरगहना खरिद गरेको विशेष सूचनाका आधारमा उनीहरूलाई निगरानीमा राखी सोधपुछ गरिएको प्रहरीले जनाएको छ।


सोधपुछका क्रममा परिवर्तित २२ लालबन्दी ०८२/०८३ (सि) र जिल्ला सर्लाही धनकौल गाउँपालिका वडा नं. ६ घर भई हाल लालबन्दी नगरपालिका वडा नं. ७ मा डेरा गरी बस्ने विदेशी साहकी श्रीमती अन्दाजी ३५ वर्षीया पिंकी देवी साहले उक्त गरगहना बिक्री गरेको खुल्न आएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई खानतलासी सूचना पुर्जीका आधारमा कोठा खानतलासी गर्दा दराज लकरबाट सुन जस्तै देखिने पहेँलो धातुका तिलहरी १ थान, टप २ थान, मंगलसूत्र १ थान, औँठी १ थान, बाला १ थान, ८ थान गेडी तथा नगद नेपाली रुपैयाँ १ लाख २ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।


बरामद गरगहना पीडितहरूमार्फत सनाखत गराउँदा चोरी भएको पुष्टि भएपछि मुख्य चोरी गर्ने व्यक्ति, बिक्रीमा संलग्न व्यक्ति तथा खरिदकर्ताहरूलाई नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा महोत्तरी जिल्ला औराही गाउँपालिका वडा नं. २ बस्ने २४ वर्षीय रविन महतो समेत चोरी कार्यमा संलग्न रहेको खुल्न आएपछि पुस —१७ गते विहिवार स्थानीय प्रहरीको सहयोगमा उनलाई पनि नियन्त्रणमा लिइएको थियो। घर खानतलासी गर्दा सुन जस्तै देखिने झुम्का २ थान, टप २ थान, औँठी १ थान, छड्के तिलहरी १ थान, हार्ड नेक्लेस १ थान, ल्यापटप १ थान तथा चोरीमा प्रयोग भएका औजार ५ थान बरामद गरिएको प्रहरीले जनाएको छ।
रविन महतोमाथि सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय लालबन्दीमा राखि अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । बरामद गरगहनाहरू सनाखतका लागि सम्बन्धित पीडितहरूलाई इलाका प्रहरी कार्यालय लालबन्दीमा उपस्थित हुन प्रहरीले आग्रह गरेको छ ।