लालबन्दी, पुस १९ – लालबन्दी जेसीजले वर्ष–२०२६ को नेतृत्व चयन गरेको छ । लालबन्दी शाखा वर्ष २०२५ की अध्यक्ष सुनिता खरेल थपलियाको अध्यक्षतामा शनिवार सम्पन्न सातौँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको हो।


निर्वाचन अधिकृत तथा वर्ष २०२३ का अध्यक्ष मनोज बख्रेलका अनुसार (वर्ष–२०२६ का लागि जेसी उत्सव वन अध्यक्षमा चयन भएका छन्। अन्य पदाधिकारीहरुमा जेसी अरविन्द राय यादव र जेसी बिक्रम दाहाल कार्यकारिणी उपाध्यक्ष, जेसी शेषराज न्यौपाने, जेसी सिजन दंगाल, जेसी उमाकुमार श्रेष्ठ र जेसी रविन्द्र कुमार राय उपाध्यक्षमा चयन भएका छन्।


कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष उत्सव वनले सबै सदस्यहरू, संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष तथा वर्ष–२०२५ का अध्यक्ष, शुभेच्छुक, सहयोगी र महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् । उनले पद केवल जिम्मेवारी मात्र नभई विश्वास, आस्था र दायित्वको साझा यात्रा रहेको बताए ।


उनले आफूलाई देखाइएको भरोसालाई कर्म, निष्ठा र सेवाभावमार्फत सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे। अध्यक्ष उत्सवले लालबन्दी जेसीजले निर्माण गरेको मूल्य, अनुशासन, नेतृत्व विकास र सामाजिक सेवाको गौरवशाली इतिहासलाई अझ उचाइमा पुर्याउन सबै सदस्यहरूको सामूहिक साथ, सुझाव र रचनात्मक आलोचना आवश्यक रहेको बताए।

साथै संस्थालाई थप सशक्त, प्रभावकारी र उदाहरणीय बनाउन सबैसँग सहकार्य गर्ने संकल्प गरेका निर्वाचन अधिकृत बख्रेलले बताए । उनले सबैलाई मार्गदर्शन, सकारात्मक सुझाव र आत्मीय हौसलाको निरन्तर अपेक्षा राख्दै, भविष्यमा जेसीजको नाम, गरिमा र पहिचान उज्यालो बनाउन एकसाथ अघि बढ्न अपिल गरे।