पुस— १०, लालबन्दी । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सर्लाही जिल्लामा पनि क्रिसमस दिवस हर्षोल्लासका साथ मनाइँदैछ। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म भएको विश्वास गरिन्छ ।


विश्वभर मनाइने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि औपचारिक रूपमा महोत्सवका रूपमा मनाउन थालिएको हो। नेपाल सरकारले २०६३ सालदेखि २०७४ सालसम्म क्रिसमस दिवसका अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो। २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीहरूलाई मात्र बिदा दिइएकोमा २०७८ सालदेखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।


क्रिसमस दिवसको अवसरमा सर्लाही जिल्लाका लालबन्दी, नवलपुर, हरिपुर, हरिवन, बरहथवा र मलंगवा लगायतका स्थानमा रहेका चर्चहरूमा विशेष प्रार्थना सभा तथा विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिएको छ। नेपाल इभान्जेलिकल मित्र मण्डली, लालबन्दी–१ नवलपुरका पादरी बिकाश बुढाथोकीका अनुसार जिल्लाभरका चर्चहरूमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको छ।


पछिल्लो समय नेपालका प्रमुख शहर तथा पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको रौनक बढ्दै गएको देखिन्छ। सर्लाही बाहेक ठमेल, बौद्ध, पोखरा, धरान, सौराहा लगायतका स्थानमा क्रिसमस ‘ट्री’ सजाएर उत्सव मनाउने प्रचलन बढ्दो छ। यसले धार्मिक सद्भावसँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याएको स्थानीयहरू बताउँछन्।