मलंगवा,पुस–८ । विश्व हिन्दू परिषद् नेपालले बङ्गलादेशमा हिन्दू अल्पसंख्यक समुदायमाथि भएको भनिएको एक जघन्य घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सर्लाही जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा परिषद्ले बङ्गलादेशका हिन्दू अल्पसंख्यक ३० वर्षीय दिपु चन्द्र दासको हत्या घटनाको घोर भत्र्सना गर्दै उक्त घटनालाई धार्मिक स्वतन्त्रता, मानवअधिकार र सभ्य समाजका मूल्य मान्यतामाथिको गम्भीर आक्रमणका रूपमा उल्लेख गरेको छ । परिषद्का अनुसार सहिष्णुता र धार्मिक सद्भावसम्बन्धी विचार व्यक्त गरेकै कारण उनीमाथि अमानवीय व्यवहार गरिएको दाबी गरिएको छ ।
विश्व हिन्दू परिषद् नेपालले उक्त घटना कुनै एक व्यक्तिमाथि मात्र नभई बङ्गलादेशमा हिन्दू अल्पसंख्यक समुदायविरुद्ध भइरहेका हिंसा, दमन र उत्पीडनको निरन्तर शृंखलाको हिस्सा भएको जनाएको छ । परिषद्ले यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि तथा संयुक्त राष्ट्रसंघको मानवअधिकार घोषणापत्रको गम्भीर उल्लङ्घनसमेत ठहर गरेको छ ।

ज्ञापनपत्रमा परिषद्ले नेपालका सन्दर्भमा पनि गम्भीर चिन्ता व्यक्त गरेको छ। खुला सीमाको दुरुपयोग गर्दै अवैध घुसपैठ, कट्टरपन्थी गतिविधि तथा सम्भावित सुरक्षा चुनौती बढ्न सक्ने भन्दै यसप्रति राज्यले समयमै ध्यान दिनुपर्ने माग गरिएको छ । विशेषगरी केही जिल्लामा देखिएका गतिविधिले धार्मिक अतिवाद र सामाजिक सद्भावमाथि असर पर्न सक्ने परिषद्को भनाइ छ ।
परिषद्ले नेपाल सरकारसमक्ष बङ्गलादेश सरकारसँग कूटनीतिक पहल गरी घटनाको स्वतन्त्र, निष्पक्ष तथा अन्तर्राष्ट्रिय निगरानीसहित छानबिन गरिनुपर्ने, दोषीलाई कडा कारबाही सुनिश्चित गर्न दबाब दिनुपर्ने, बङ्गलादेशमा अल्पसंख्यक हिन्दू समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिनुपर्ने लगायतका माग अघि सारेको छ।

साथै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मानवअधिकार मञ्चहरूमा विषय उठाउन तथा नेपालस्थित बङ्गलादेशी दूतावासमार्फत आधिकारिक स्पष्टीकरण माग गर्न पनि आग्रह गरिएको छ । नेपालभित्र अवैध घुसपैठ, सम्भावित अतिवादी गतिविधि तथा सीमा सुरक्षाका विषयमा कडा निगरानी र प्रभावकारी अनुगमन प्रणाली सुदृढ गर्नुपर्ने मागसमेत ज्ञापनपत्रमा समेटिएको छ। पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने परिषद्को जोड छ ।

ज्ञापनपत्रमा विश्व हिन्दू परिषद् नेपालले दिपु चन्द्र दासप्रति श्रद्धाञ्जली अर्पण गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय सुरक्षाको रक्षा राज्य र समाजको साझा दायित्व भएको उल्लेख गरेको छ । उक्त ज्ञापनपत्रको बोधार्थ परराष्ट्र मन्त्री, गृह मन्त्री, राष्ट्रिय मानवअधिकार आयोग तथा सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाइएको परिषद्ले जनाएको छ ।









