लालबन्दी, पुस ६ गते । पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा काटिएको रुख बिजुलीको तारमा खस्दा सर्लाहीको लालबन्दी र आसपासका क्षेत्रमा अवरुद्ध भएको विद्युत् ९ घण्टापछि पुनः सुचारु भएको छ ।
रुख ढाल्ने क्रममा ११ हजार केभी लाइनका ३–४ वटा पोलको तारमा क्षति पुगेपछि साँझ ५ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। अवरुद्ध विद्युत् राति १ बजेदेखि पुनः सुचारु गरिएको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।


विद्युत् अवरुद्ध हुँदा लालबन्दी वितरण केन्द्रअन्तर्गत लालबन्दी, पूर्व रानिगन्ज, पत्थरकोट, नारायणखोला, परवानीपुरलगायत क्षेत्रका स्थानीयको दैनिकी प्रभावित भएको थियो ।


नेपाल विद्युत् प्राधिकरण, लालबन्दी वितरण केन्द्रका प्रमुख सुरज ढुंगेलका अनुसार नवलपुर सडकखण्डमा सडक विभागद्वारा काटिएको रुख बिजुलीको तारमा खस्दा पोल तथा तारमा क्षति पुगेको हो ।
“अवरुद्ध भएको विद्युत् हाम्रा ऊर्जाशील र लगनशील कर्मचारीहरूको ९ घण्टाको निरन्तर प्रयासपछि राति अवेरै भएपनि पुनः सुचारु गरेका छन्,” उनले भने ।


उनले विद्युत् संरचनामा असर पर्ने गरी बिना अग्रिम योजना र जानकारी कुनै पनि कार्य नगर्न सम्पूर्ण सरोकारवालालाई आग्रहसमेत गरे । साथै, वितरण केन्द्रले विद्युत् अवरुद्ध भई उपभोक्तामा परेको असुविधाप्रति क्षमायाचना गर्दै भविष्यमा यस्ता घटना नदोहोर्याउन आवश्यक पहल गरिरहेको जनाएको छ ।