लालबन्दी,पुस—६ गते ।  नेपाली कांग्रेस जिल्ला सर्लाही  क्षेत्र नं. १ ले नयाँ क्रियाशील सदस्यता फाराम वितरण प्रक्रिया सुरु गरेको छ। क्षेत्रीय कार्य समितिको शनिवार बसेको बैठकको निर्णयअनुसार पुस ६ गते ( आज) देखि नयाँ क्रियाशील फाराम वितरण कार्यक्रम सञ्चालन गरिएको हो।

जसअनुसार पुस ६ गते बिहान ११ बजेदेखि क्षेत्र नं. १ भित्रका सम्पूर्ण वडा सभापतिहरूले आ–आफ्नो वडाको लागि आवश्यक नयाँ क्रियाशील सदस्यता फाराम बुझ्न क्षेत्रीय कार्यसमितिले ईश्वरपुर नगरपालिका–६ स्थित कार्यालयमा उपस्थित  हुन आग्रह गरेको छ।

नयाँ क्रियाशील सदस्यता फाराम भर्नका लागि नागरिकता प्रमाणपत्रको फोटोकपी १ प्रति, फोटो २ प्रति तथा दस्तुरबापत नगद रू ३००  आवश्यक पर्ने क्षेत्रिय समितिले जनाएकाे छ । क्षेत्रिय समितिका अनुसार सम्बन्धित वडा कार्य समितिको बैठकको निर्णय प्रतिलिपि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने  छ।

क्षेत्रीय सभापति हरि बहादुर लुङ्गेलीले संगठन विस्तार र पार्टीलाई थप सशक्त बनाउन नयाँ क्रियाशील सदस्यता अभियान महत्वपूर्ण रहेको बताए। यस अभियानमा सबै वडा तहका नेतृत्वलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा विस्तारलाई संगठन सुदृढीकरणको मुख्य आधार मानेको छ।