लालबन्दी, पुस ३ गते । नेपाली कांग्रेसका महासमिति सदस्य तथा १४औँ महाधिवेशनमा सह–महामन्त्री पदका प्रत्यासी नेता देवराज चालिसेले मूल्य मान्यतामा आधारित राजनीति गर्न आग्रह गरेका छन् । उनले शक्ति केन्द्रीत राजनीतिले व्यक्तिलाई भ्रष्ट्रिकरण तिर लाने बताउँदै मूल्य मान्यतामा आधारित राजनीति गर्न आग्रह गरे । उनले बीपी कोइरालाको विचारलाई व्यवहारमा उतार्न जिल्ला तथा युवा नेतृत्वले अग्रसरता लिनुपर्नेमा जोड दिए।


सर्लाहीको लालबन्दीमा कांग्रेसका नेताकार्यकर्तासँगको भेटघाटमा चालिसेले पार्टीले आत्मसुधार नगरेसम्म जनताको भरोसा जित्न नसक्ने बताए । नेपाली कांग्रेस भित्र प्रदिप गिरि पछिको बौद्धिक लिडरका रुपमा परिचित नेता चालिसेले फोहर शरीर लिएर चुनावमा गयो भने जनताले नपत्याउने भएकाले पनि कांग्रेसलाई सफा, अनुशासित र विश्वसनीय बनाउनैपर्ने धारणा राखे । यथास्थितिले पार्टीलाई बलियो नबनाउने उल्लेख गर्दै उनले पार्टी सशक्त बनाउन विचार सशक्त हुनुपर्ने बताए । पार्टीभित्र निरन्तर बहस र आत्मसमिक्षा आवश्यक रहेको उनको भनाइ थियो ।


जिर्ण संरचनाबाट चुनाव लडियो भने मत नबढ्ने उल्लेख गर्दै चालिसेले नयाँ सोच, नीति र कार्यशैलीसहित संगठनका सबै संरचना चुस्त–दुरुस्त बनाएर अघि बढ्न महाधिवेशन अपरिहार्य रहेको बताए । त्यसकै लागि नेतृत्व परिवर्तनको एजेन्डा अघि सारिएको उनले प्रष्ट पारे । पार्टीकै केन्द्रमा बसेर संगठनलाई कमजोर बनाउने ‘भस्मासुर प्रवृत्ति’ कांग्रेसभित्र पनि रहेको उल्लेख गर्दै उनले त्यस्तो चरित्रको अन्त्य हुनैपर्ने बताए । भित्रैबाट पार्टीलाई कमजोर बनाउने प्रवृत्तिले कांग्रेसलाई दीर्घकालीन क्षति पु¥याएको उनको तर्क थियो । उनले बेलायतको लेबर पार्टीले लगातार चुनाव हार्दा पनि आत्मसमिक्षा गर्दै आफूलाई पुनर्गठन गरेको उदाहरण प्रस्तुत गरे ।


लालबन्दी नगर प्रमुख तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि वासुदेव अधिकारीको निवासमा भएको छलफल कार्यक्रममा महाधिवेशन प्रतिनिधि दीपक अधिकारी, सुरेन्द्र न्यौपाने, नगर सभापति प्रशान्त आर्य, नेता कुवेर आचार्य, विष्णुमणि घिमिरे, शिवप्रसाद न्यौपाने, पवन कोइराला, तरुण दल, नेविसंघका नेता तथा कांग्रेस कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।