
मलंगवा, पुस २ गते । सर्लाही सदरमुकाम मलंगवामा नयाँ बसपार्क सञ्चालनसँगै देखिएको विवाद सहमतिमा टुंगिएको छ । बससँगै म्याजिक लगाएतका साना सावारीसाधनलाई पनि नयाँ बसपार्कबाटै सञ्चालन गर्न दिने निर्णय भएपछि केही दिनदेखि उत्पन्न विवादको अन्त्य भएको हो ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बुधवार बिहान बसेको सरोकारवालाको बैठकले म्याजिक लगायतका सानासवारीलाई निश्चित शर्तको पालना गर्ने गरी बसपार्कबाटै सञ्चालन गर्न दिने निर्णय गरेको हो । बैठकमा जिल्ला प्रहरी, ट्राफिक प्रहरी, नगरपालिका, बस तथा म्याजिक व्यवसायीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

तीन वर्षअघि निर्माण भए पनि प्रयोगमा नआएको मलंगवा नगरपालिका–२ स्थित बसपार्क मंगलवारदेखि सञ्चालनमा ल्याइएको थियो । नगरपालिकाले सुरुमा बसलाई मात्र बसपार्कबाट सञ्चालन गर्न दिएको र म्याजिक सवारीलाई जिल्ला समन्वय समितिको मैदानबाट सञ्चालन गर्न निर्देशन दिएपछि म्याजिक व्यवसायी असन्तुष्ट बनेका थिए । त्यसपछि उनीहरूले सडकमै म्याजिक तेस्र्याउँदै मंगलवार आन्दोलन सुरु गरेका थिए ।

छलफलपछि १५–१५ मिनेटको अन्तरालमा एउटा म्याजिक छुट्ने व्यवस्था मिलाइएको छ भने बसहरू आफ्नो नियमित समयतालिका अनुसार सञ्चालन हुनेछन् । साथै राजश्री चोकदेखि दक्षिणतर्फ बस र म्याजिक दुवै सवारी सञ्चालन गर्न नपाइने, प्रत्येक चोकमा पाँच मिनेटभन्दा बढी सवारी रोक्न नपाइने तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले समय कार्डको व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

यसअघि मलंगवा नगरपालिका–९ स्थित बिच बजारमा रहेको पुरानो बसपार्क रहेको जग्गा खाली गरिदिन कृषि विकास बैंकले आग्रह गरेपछि स्थानीय प्रशासन र नगरपालिकाको समन्वयमा पुस १ गतेदेखि नयाँ बसपार्क सञ्चालनमा ल्याइएको हो । सहमतिपछि अब मलंगवामा यातायात व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ ।









