
लालबन्दी, पुस १ गते । मधेश प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट स्वास्थ्य सूचकांक रहेको स्थानीय तहका रूपमा घोषित भएको लालबन्दी नगरपालिकाको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूले मंगलवार औपचारिक अनुगमन तथा अवलोकन भ्रमण गरेका छन् ।

अनुगमनका क्रममा लालबन्दी नगर अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवाहरू, भौतिक पूर्वाधारको अवस्था तथा सञ्चालनमा रहेका विभिन्न स्वास्थ्य कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो । छलफलमा अस्पताल व्यवस्थापन समितिका प्रमुख समेत रहेका लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारी, स्वास्थ्य शाखा प्रमुख, अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

भेटघाट तथा छलफलका क्रममा आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, सेवाको गुणस्तर अभिवृद्धि तथा स्थानीय तहहरूबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले चियाेचर्चाे दैनिकलाइ जानकारी दिए । यस्ता अनुगमन तथा अवलोकन भ्रमणले आपसी अनुभव आदानप्रदान, असल अभ्यासको सिकाइ तथा नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूको विश्वास रहेको छ ।

सूचकांकको मूल्यांकनअनुसार लालबन्दी नगरपालिका यस वर्ष ९९.०३ अंक प्राप्त गर्दै मधेश प्रदेशमै प्रथम भएको थियो । प्रभावकारी रूपमा स्वास्थ्य सेवा सञ्चालन, लक्ष्यअनुरूपका स्वास्थ्य सूचक प्राप्ति तथा समग्र स्वास्थ्य व्यवस्थापनमा देखिएको उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशले गत मंसिर ७ गते लालबन्दी नगरपालिकालाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको थियो ।









