मलंगवा,पुस—१ गते । मलंगवा नगर संरक्षण तथा सुधार समितिले मलंगवा नगरपालिकाभित्रका सार्वजनिक सडक तथा फुटपाथमा बढ्दो अतिक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै, प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र बुझाएको छ ।


समितिले नगरका विभिन्न स्थानमा पराल, गाईभैँसीको मल, बालुवा, गिट्टी, इँट्टा लगायतका निर्माण सामग्री सडकमा थुपार्ने, बाटो अतिक्रमण गरी अवैध संरचना निर्माण गर्ने कार्य बढ्दै गएको भन्दै त्यसलाई रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मंगलवार ज्ञापनपत्र बुझाएको हो । यस्ता गतिविधिले सडक दिनप्रतिदिन साँघुरो हुँदै गएको,सवारी साधन तथा पैदल यात्रुहरूलाई आवतजावतमा अत्यधिक कठिनाइ भइरहेको ज्ञापनपत्र पत्रमा उल्लेख ।


सडक अतिक्रमणका कारण ट्राफिक जाम, सवारी दुर्घटनाको जोखिम, आपतकालीन सेवामा अवरोध तथा नगरको सौन्दर्यमा समेत नकारात्मक प्रभाव परेको समितिको ठहर छ। स्थानीय शासन ऐन, प्रचलित कानुन तथा नगरपालिकाका नियमावलीअनुसार सार्वजनिक सडक र फुटपाथ अतिक्रमणमुक्त राख्नुपर्ने व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको समितिको भनाइ छ ।


यही अवस्थालाई मध्यनजर गर्दै मलंगवा नगर संरक्षण तथा सुधार समितिले छिट्टै सडक अतिक्रमण हटाउने विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ। उक्त अभियानलाई सफल बनाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, मलंगवा नगरपालिका कार्यालय तथा सम्बन्धित निकायसँग सहयोग र समन्वयको अपेक्षा गरिएको छ ।

समितिका अध्यक्ष चन्दन कुमार सिंहले नगरको सुन्दरता, सुरक्षित आवागमन र नागरिकको सहज जीवनका लागि सडक अतिक्रमण हटाउन सबै सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् ।