
सर्लाही/मंसिर— २९ गते । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै सर्लाही जिल्लाले दुईवटा मन्त्रालयको जिम्मेवारी पाएको छ । यसअघि विनाविभागीय मन्त्री रहेका जंगिलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम सोमवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा रायलाई उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।


राय नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेश सांसद हुन् । मन्त्रालयको जिम्मेवारी पाएपछि उनले समग्र मधेश प्रदेश र विशेषगरी सर्लाही जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पूर्ववर्ती सरकारले सुरु गरेर अलपत्र पारेका स्वास्थ्यसम्बन्धी योजनाहरू पूरा गर्ने तथा सर्लाहीमा उपयुक्त स्थानमा ट्रमा सेन्टर सञ्चालनका लागि पहल गर्ने चियाेचर्चाे दैनिकसंग बताए ।

यसैगरी, सोमवार नै विस्तार गरिएको मन्त्रिपरिषद्मा जवाहारलाल कुशवाहालाई उर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। कुशवाहा सर्लाही क्षेत्र नं. ३ (क) बाट तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद हुन्। हाल पार्टी एकीकरणपछि उनी नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध छन् । नवनियुक्त मन्त्री कुशवाहाले आफूले पाएको मन्त्रालय अन्तर्गत प्रदेशवासीको हितमा काम गर्ने प्रतिक्रिया दिएका छन्।

नवनियुक्त मन्त्री राय र कुशवाहालाई उनीहरू निकट दलका नेताकार्यकर्ता , शुभ चिन्तक तथा आम नागरिकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । प्रदेश सरकारमा यसअघि नै महेश प्रसाद यादवले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए । रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालय र कनिश पटेलले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन्। सोमवार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, खेलकुद तथा समाज कल्याण, गृह, सञ्चार तथा कानून, वन तथा वातावरण, तथा श्रम तथा यातायात मन्त्रालयहरू बाँकी रहेका छन्। ती मन्त्रालयहरू पनि गठबन्धनमा रहेका दलहरूलाई क्रमशः भाग लगाइने तयारी भइरहेको जनाइएको छ ।









