
गोडैता,मंसिर—२९ गते । सर्लाही जिल्लाको गोडैता नगरपालिका–४ रोहुवा स्थित उखु बारीमा विद्युत् तार सट भएर आगलागी भएको छ । सोमवार दिउँसो अन्दाजी १२ः३० बजेको समयमा मुना चौधरीको उखु बारीबाट आगो सल्किएर आगलागी भएको हो।

प्रहरीका अनुसार आगलागी भएको खबर पाए पछि इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा दमकलको सहयोगमा आगलागी दिउँसो ३ः३० बजेको समयमा नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


आगलागीबाट मुना चौधरीसहित विभिन्न व्यक्तिहरूको उखु बारी गरी अन्दाजी १ विघा बराबरको उखु आंशिक रूपमा जलेर नष्ट भएको छ। घटनाबाट भएको विस्तृत क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

काटेर बिक्री गर्ने बेला भएको उखु जलेपछि अव वर्षदिनको घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको किसानहरु बताएकाछन् ।









