बसबरिया, मंसिर २९ गते । सर्लाहीकाे बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका युवा नेता गजेन्द्र साहले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
कांग्रेस नेता साहले बसबरिया गाउँपालिका–४ मा अवस्थित आदर्श माध्यमिक विद्यालय तथा वडा नं. ६ मा रहेको प्राथमिक विद्यालय मानटोलमा अध्ययनरत अतिविपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

नेपाल विद्यार्थी संघका नेता अरविन्दकुमार साहका अनुसार दुवै विद्यालयका गरी १०५ जना अतिविपन्न विद्यार्थीलाई कापी र कलम वितरण गरिएको हो । शैक्षिक सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरू खुसी देखिएका थिए ।
कार्यक्रमका क्रममा नेता साहले शिक्षा क्षेत्रको विकासमा सहयोग गर्नु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै विद्यालयहरूमा देखिएको खानेपानीको समस्याप्रति समेत ध्यानाकर्षण भएको बताए ।

उनले दुवै विद्यालयमा खानेपानीको समस्या समाधानका लागि आवश्यक खानेपानी पाइप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले नेता साहले जन्मदिनलाई औपचारिक कार्यक्रमभन्दा सामाजिक सेवामा केन्द्रित गरेकोमा प्रशंसा गरेका छन् ।

यस किसिमका सहयोगले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने उनीहरुको विश्वास छ ।