गोडैता, मंसिर —२५ गते । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुर र वडा नम्बर–१२ मधुवनीलाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । निरन्तर सचेतनामूलक गतिविधि, समुदाय स्तरको प्रतिबद्धता र आवश्यक मापदण्ड पूरा भएपछि दुवै वडाले बालविवाह अन्त्य गर्न औपचारिक घोषणा गरेका हुन् ।


वडा नम्बर–१ बहादुरपुरमा वडाध्यक्ष सुजित महतोको अध्यक्षता तथा प्रदेश सभा सदस्य कांग्रेस उपसभापति वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। सो अवसरमा नगरप्रमुख देवेन्द्रकुमार यादव र उपप्रमुख अन्जना कुश्वाहाको विशिष्ट अतिथ्यता रहेको थियो ।

त्यसैगरी वडा नम्बर–१२ मधुवनीमा नगरप्रमुख यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बालविवाहमुक्त घोषणा गरिएको हो । यस वडामा पछिल्ला महिनाहरूमा विद्यालय, बाल क्लब, समुदाय र गैरसरकारी संस्थाहरूसँग समन्वय गर्दै विभिन्न सचेतना अभियान सञ्चालन हुँदै आएका थिए।


स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, बाल क्लबका पदाधिकारी तथा अभिभावकहरूले बालविवाह हुन नदिने दृढ प्रतिबद्धता जनाएपछि दुवै वडालाई बालविवाहमुक्त क्षेत्र घोषणा गरिएको हो।
गोडैताका वडाहरू सर्लाही जिल्लामै पहिलो तथा सम्पूर्ण मधेश प्रदेशमा दोस्रो बालविवाहमुक्त घोषणा हुने क्षेत्रमा समावेश भएका छन् । कार्यक्रमका प्रमुख अतिथिद्वय वीरेन्द्र प्रसाद सिंह र नगरप्रमुख यादवले ऐतिहासिक उपलब्धिका रूपमा लिँदै सबैलाई बधाइ दिए । साथै आगामी दिनमा अझ उच्च मनोबलका साथ अभियानलाई सफल बनाउन आग्रह गरे।


बालविवाहमुक्त घोषणा अभियान चेतना अभिवृद्धि र सामाजिक परिवर्तनतर्फको ठोस कदम भएको स्थानीयले बताएका छन् । विद्यालय, स्थानीय नेतृत्व, युवा, अभिभावक तथा समुदायको सक्रिय भूमिकाले यो उपलब्धि सम्भव भएको उनीहरुले बताए । वक्ताहरुले बालविवाहजस्तो गम्भीर सामाजिक समस्याको समाधानका लागि गरिएको यस्ता प्रयासले नयाँ पुस्ताको भविष्य सुरक्षित गर्ने विश्वास व्यक्त गरे।