राजिव साह /मलंगवा
मंसिर—२५ गते । सुनौलो परिवार नेपालको आयोजना तथा संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषको सहयोगमा जिल्लास्तरिय अभिमुखिकरण कार्यक्रम मलंगवा स्थित सुजाता होटेलमा बुधवार सम्पन्न भएको छ । समावेशी यौन तथा प्रजनन स्वास्थ्य सेवामा स्थानीय तह, स्वास्थ्यकर्मी, मानव अधिकारकर्मी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको आयोक संस्थाले जनाएको छ ।


चार स्थानीय तहहरु गोडैता नगरपालिका, बसबरिया गाउँपालिका, कौडेना गाउँपालिका र बिष्णु गाउँपालिकाका कार्यपालिका सदस्य, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई लक्षित उक्त अभिमुखिकरणबारे जानकारी दिँदै युएनएफपिएका प्रतिनिधि बच्चेलाल महतोले स्थानीय तहमार्फत समावेशी यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तारमा कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे ।


नर्वे सरकारको सहकार्यमा आयोजित कार्यक्रममा सहभागीहरूलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका चुनौती, स्वास्थ्य सेवा उपलब्धता, सम्बद्ध अधिकार र सेवाप्रवाहमा देखिने विभेदबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमको अन्तिम दिन जिल्लामा क्रियाशील मानव अधिकारकर्मी तथा सामाजिक क्षेत्रका सरकारी गैरसरकारी संस्थाका प्रतिनिधिहरूबीच अन्तक्र्रिया गरिएको थियो।

कार्यक्रममा युएनएफपिएका बच्चेलाल महतो, सुनौलो परिवार नेपालकी उषा ज्ञवाली, युएनएफपिएकी समझना साह, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष रम्भा झा, इन्सेकका जिल्ला संयोजक बुधन साह, महिला शान्ति सेवा केन्द्रकी सङ्गीता परियार, ल्ल्म्क्ध्इ का गोबिन्द पासवान, ओरेकका गुन्जा साह, आशिष समाजिक सेवा नेपालकी सङ्गीता नेपाली, मुक्ति नेपालकी रिना साह, रोयम नेपालका राकेश मिश्र, साथै ‘साथ सिकाई सञ्जाल’ का प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारका पक्षमा सक्रिय निल हिरा समाजकी परामर्श अधिकृत एन्जेल लामाले समुदायले दैनिक रूपमा भोग्ने सामाजिक तथा संस्थागत चुनौती, सार्वजनिक सेवामा पहुँच तथा भेदभाव अन्त्यका उपायबारे आफ्ना अनुभव सुनाउदै सुझाव दिएकी थिइन्।