
मलंगवा, मंसिर—२५ गते । सर्लाही प्रहरीले जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट नक्कली नेपाली नोटसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैया निवासी ३० वर्षीय फिरोज खान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोष्टमा इलाका प्रहरी कार्यालय फेन्हराबाट खटिएको टोलीले खानलाई नियन्त्रणमा लिएको हो ।

भारततर्फबाट सिमरा तर्फ अनटेष्ट मोटरसाइकलमा आइरहेको अवस्थामा खानको गतीविधी शंकास्पद देखिएपछि प्रहरीले उनको शरीर तथा झोला चेकजाँच गरेको थियो ।
बुधवार राति करिब ९ः२० बजेतिर चेकजाँचका क्रममा खानको पछाडिको गोजीमा एक हजार दरका ९५ थान नक्कली नेपाली नोट फेला परेको प्रहरीले जनाएको छ ।

खानले उक्त नोट भारतीय बजारबाट नेपाल भित्र्याएको आशंकामा प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो । पक्राउ परेका खानलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याइएको छ।











