तस्बिर :साेम दियाली।


सोम दियाली/हरिवन
मंसिर २२ गते । सर्लाहीको हरिवन नगरपालिकाकै प्रमुख धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गणेशस्थान मन्दिर जोड्ने धुम्मे खोलामा सुविधा सम्पन्न पुल बन्ने भएको छ ।
हरिवन नगरपालिका वडा नम्बर ४ र नगरपालिका कार्यालयको कुल १ करोड २२ लाख ९० हजार ५५ रुपैयाँ ७२ पैसाको लागतमा यहाँ २५ मिटर लामो पुल निर्माण हुने भएको हो ।
गएको बैशाख १९ गते नै मकवानपुरको साई सारा कन्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भइसकेको पुलको सोमबार विहान पूजापाठसहित विधिवत रुपमा शिलान्यास गरिएको छ । गणेस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार बस्नेतको अक्ष्यक्षतामा नगर प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन ४ का वडाअध्यक्ष केशवराज थापा, वडा नम्बर ३ का वडाअध्यक्ष दिपमान लोप्चनलगायतले विधिवत पूजापाठ गरी पुलको शिलान्यास गरेका हुन् ।


पुल शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै हरिवन १० का वडाअध्यक्ष एवम् नगर प्रवक्ता शम्भुप्रसाद मैनालीले पुलको निर्माण पश्चात मानिसहरुलाई आवतजावतमा सहजता आउने विश्वास व्यक्त गरे । उनले पुल निर्माणमा आफूहरुले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले निर्धाति समयमै पुलको निर्माण कार्य सम्पन्न गर्न ठेकेदारलाई आग्रह गरे ।
त्यस्तै हरिवन ३ का वडाअध्यक्ष दिपमान लोप्चनले पुलको निर्माणले हरिवनकै धार्मिक तथा पर्यटकीय स्थल गणेश मन्दिरको विकासमा ठुलो टेवा पुग्ने बताए । उलने पुलको निर्माण पश्चात गणेशस्थान मन्दिरमा भव्य रुपमा धार्मिक पर्यटकहरु भित्रिने विश्वास व्यक्त गरे ।


त्यस्तै हरिवन ४ का वडाअध्यक्ष केशवराज थापाले पटौना आफैमा थोरै पछि परेको ठाउँ भएपनि सबैको सहयोगले विस्तारै विकासमा अघि बढेको बताए । उनले गणेशस्थान मन्दिर हरिवनकै पहिलो नम्बरको धार्मिक तथा पर्यटकीय स्थल भएको र अहिले यसको विकासमा मेयर, उपमेयर र वडाअध्यक्षहरुले समेत सहयोग गरेको कारण मन्दिरको विकासमा ठुलो टेवा पुगेको बताए । उनले तोकिएको मिति अगावै पुल हस्तान्तरण गर्ने भन्ने ठेकेदारको प्रतिवद्धताले पटौनावासीमा थप खुशीको सञ्चार भएको बताए । उनले हरिवनको सम्पतिको रुपमा मन्दिरलाई विकास गरेर लैजानुपर्ने आवश्यकता औंल्याए ।
पुल शिलान्यास कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले गणेशस्थान मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूहरुले धेरै पहिलादेखि नै पहल गर्दै आएको बताए । उनले मन्दिर जोड्न बनेको झोलुंगेपुल दुई पटक शिलान्यास गरेर बनेको तर अहिले बन्ने पुल पहिलो पटकमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले पछि गुनासो गर्नुभन्दा पहिला नै खबरदारी गर्नु राम्रो हुने भन्दै पुल निर्माण कार्यको निगरानी गर्न मन्दिर व्यवस्थापन समिति र स्थानीयलाई आग्रह गरे ।


पुलको शिलान्यस भएपछि खुशि हुँदै गणेस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केदार वस्नेतले सहयोगी सबैप्रति आभार व्यक्त गरे । उनले गणेश मन्दिरलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूहरुले ४० वर्षदेखि पहल गरिरहेको बताए । उनले मन्दिर परिसरमा निर्माण गरिएको पोखरीमा छिट्टै नै बुढानिलकण्ठको मूर्ति राखिने बताउँदै अन्य थुप्रै संरचनाहरु निर्माण गर्ने योजना रहेको सुनाए ।
पटौनास्थित हाम्रो कृषि सहकारीका अध्यक्ष स्थानीय युवा तिलक खड्का(प्रशान्त)ले शिलान्यास कार्यक्रमका अतिथी तथा उपस्थितहरुलाई स्वागत मन्तव्य मार्फत मिठो स्वागत गरेका थिए ।


शिलान्यास कार्यक्रममा हरिवन ७ का वडाअध्यक्ष निरध्वज कार्की, ११ का वडाअध्यक्ष शेषमेहबुब रेजा, हरिवन नगरपालिकाका इन्जीनियर जकी अहमदको आतिथ्यता रहेको थियो । त्यस्तै गणेशस्थान मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु र स्थानीयवासीसमेतको उल्लेख्य सहभागिता रहेको थियो शिलान्यास कार्यक्रमका सञ्चालक स्थानीय यूवा दिपक दाहालले जानकारी दिए ।