

बलरा, मंसिर २२ गते। प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका नेता शिवचन्द्र तिवारीको ८७ वर्षको उमेरमा निधन भएको छ। बलरा नगरपालिका–९, अचलगढस्थित निवासमा सोमवार विहान उहाँको निधन भएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले जनाएको छ।

तिवारीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र सिंह, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, कांग्रेस नेताहरु अशोक खनाल, विनोद खनाल, काशी अकेला, शिवचन्द्र चौधरी, काशिकान्त सिंह, अशोक सिंह, पप्पु चौधरीलगायतका उहाँको निवास पुगेका थिए । उनीहरूले फूलमाला र कांग्रेसको चार तारे झण्डा ओढाएर स्वर्गीय तिवारी प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

“स्वर्गीय तिवारी निडर र साहसी योद्धा हुनुहुन्थ्यो। उहाँले पार्टी र समाजका लागि निरन्तर योगदान दिनुभयो। उहाँको निधनले हामी अत्यन्त स्तब्ध भएका छौँ,” पूर्व सभापति सुरेन्द्र प्रसाद सिंहले चियोचर्चो दैनिक संग भने।
नेपाली कांग्रेस वृत्तमा ‘जिउँदो सहिद’को रुपमा परिचित तिवारीले जीवनभर लोकतन्त्र र पार्टीका लागि महत्वपूर्ण योगदान पु¥याएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख तथा कांग्रेस नेता कौशल किशोर सिंहले स्मरण गरे।

नेपाली कांग्रेस सर्लाहीले स्वर्गीय तिवारीको आत्माको शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।










