मलंगवा, मंसिर २२ । नेपाली कांग्रेस सर्लाहीले मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री जंगीलाल रायलाई विशेष समारोहमार्फत सम्मान गरेको छ। कविलासी नगरपालिका सलेमपुर निवासी रायलाई पार्टी जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सर्लाही–२ (क) बाट प्रदेशसभा सदस्यका रूपमा निर्वाचित राय आइतवार मधेश सरकारको मन्त्रीमा नियुक्त भएका हुन्। उनलाई मन्त्रालयको जिम्मेवारी भने आगामी बुधबार मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत हासिल गरेपछि तोक्ने सम्भावना रहेको कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारले जानकारी दिए।
कांग्रेस सर्लाहीका सचिव निरज कार्कीका अनुसार कार्यक्रममा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमार, निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह तथा नागेन्द्र कुमार, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठलगायत नेताहरूले रायलाई सम्मान गरेका थिए । सचिव कार्कीका अनुसार सम्मान कार्यक्रममा पार्टीका जिल्ला स्थित नेताकार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतवार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका जंगीलाल राय र समाजवादीका कनिष पटेललाई विना विभागीय मन्त्री तथा जनमत पार्टीका महेश यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन्। सर्लाही–२ (क) बाट निर्वाचित राय कांग्रेसका पूर्व केन्द्रीय सदस्य समेत हुन्। उनले २०७९ मा प्रदेशसभा सभामुखका लागि एमालेका रामचन्द्र मण्डलसँग प्रतिस्पर्धा गरेका थिए। आइतवारै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले तिनै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।