जनकपुरधाम, मंसिर ७ । स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशले आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सर्लाहीको लालबन्दी नगरपालिका प्रदेशका १३६ स्थानीय तहमध्ये सबैभन्दा उत्कृष्ट ठहरिएको छ । सूचकांकको आधिकारिक मूल्यांकनअनुसार ९९.०३ अंक प्राप्त गर्दै लालबन्दीले प्रथम स्थान हासिल गरेको हो ।


प्रभावकारी स्वास्थ्य सेवा सञ्चालन, लक्ष्यअनुरूपका सूचक प्राप्ति तथा समग्र स्वास्थ्य व्यवस्थापनमा देखिएको उत्कृष्टताको प्रशंसा गर्दै स्वास्थ्य निर्देशनालयले लालबन्दी नगरपालिकालाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको छ । प्रशंसा–पत्रमा आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गरी मधेश प्रदेशको स्वास्थ्य सूचक सुधारमा उल्लेख्य योगदान पु¥याएको भन्दै आगामी दिनमा पनि गुणस्तरीय तथा निरन्तर सेवा प्रवाहको अपेक्षा गरिएको उल्लेख छ । सम्मान नगरप्रमुख वासुदेव अधिकारीले ग्रहण गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा स्वास्थ्य शाखा प्रमुख मुम्ताज मिकरानी सहभागि भएका थिए ।


तीन दिनसम्म जनकपुरधाममा चलेको वार्षिक समीक्षा गोष्ठीको समापन समारोहमा बोल्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रलाई समग्र रूपमा उकास्न प्रदेशस्तरीय स्वास्थ्य नीति आवश्यक रहेको बताएका छन् । उनले गोष्ठीमा प्रस्तुत विभिन्न तथ्यांक तथा सुझावलाई एकीकृत गरी आगामी वर्षको बजेट निर्माणमा उपयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए । स्वास्थ्य निर्देशक डा. न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य सचिव, विभिन्न पालिकाका प्रमुख तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । यस अघि जिल्ला स्तरमा पनि लालबन्दी नगरपालिका नै प्रथम भएको थियो ।