
बागमती, मंसिर ४ गते । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले जिल्ला स्तरीय संवाद समितिको वैकठ सम्पन्न गरेको छ ।
जल, जमिन र जंगलसहित बहुसरोकारका विषयमा देखिएका विवाद रुपमान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संस्थाले अध्यक्ष नारायण खपाङ्गीको अध्यक्षतामा बागमती १ स्थित सिता पार्टी प्यालेस मा संवाद समितिको वैठक सम्पन्न गरेको हो ।
वैठकमा जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र महतो, बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कटुवाल, हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, लालबन्दीकी उपमेयर कल्पना माया पाख्रिन, भूमि समस्या समाधाना आयोगका सर्लाही अध्यक्ष मदन विश्वकर्मा, जिल्ला वनका प्रतिनिधि, मालपोत र नापी तथा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा वैकठ सम्पन्न गरिएको संस्थाकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले जानकारी दिईन् ।

उनका अनुसार बैठकमा संस्थाले हालसम्म गरेका उपलब्धीहरुलाई केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वत विश्वकर्माले प्रस्तुत गरेकी थिईन् । २०७० सालमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भई क्रियाशील रहेको संस्थाले हाल देशका २१ जिल्लामा द्वन्द रुपमान्तरणको काम गरिरहेको छ ।
स्रोत व्यक्ति विश्वकर्माका अनुसार संस्थाले देशभर ३३३ जना द्वन्द रुपान्तरण सहजीकरण गर्न सक्ने जनशक्ति तयार गरेको र तीमध्ये १४० जनालाई कार्यक्षेत्रमा परिचालन गरेको, यो अवधिमा देशभर ४३० ओटा द्वन्द रुपान्तरण गरेको, जिल्लामा ८ ओटा मेलमिलापसम्बन्धी तालिम सञ्चालन गरेको, कोभिडको समयमा स्वास्थ्य तथा राहतका सामाग्री प्रदान गरेको, समय समयमा सरोकारवालाहरुलाई फिल्ड भ्रमण गराएको, जिल्लामा ३८ओटा बहुसरोकारवाला द्वन्द रुपान्तरण गरेको छ । उनका अनसार केन्द्रले मिलाएका विवादपछि समुदायमा सम्बन्धहरुमा सुधार आएको, रोकिएका विकासका काममा सहजता आएको, स्थानीय न्यायिक समितिलाई समेत न्याय सम्पादन प्रक्रियामा सहजता आएको छ ।
वैठकलाई सम्बोधन गर्दै सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य तथा सर्लाही अध्यक्ष सिताराम पोखरेलले केन्द्रले फेरि नबल्झने गरी विवादहरु समाधान गर्ने गरेको बताए । उनले आफू वडाअध्यक्ष हुँदा समेत नसकेका पुराना विवाद समेत केन्द्रले सहजै मिलाएर सराहनीय कार्य गरेको भन्दै केन्द्रको तारिफ गरे । उनले केन्द्रको प्रभाव बढ्दै गएकोले स्थानीय तहहरुले समेत विभाग नै बनाएर केन्द्रसँग सहकार्य गरे न्याय सम्पादनमा त्यसले सहजता ल्याउने बताए ।

त्यस्तै भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदन विश्वकर्माले आफूले गरेको गल्ती स्वीकार नगर्ने जमातकै कारण समुदायका द्वन्द सिर्जना हुने गरेको बताए । उनले भूमि सुधारको क्षेत्रमा धेरै नै काम गर्नु पर्ने भएपनि विविध कानूनी उल्झन र झण्झटहरु रहेको बताए । उनले भने,‘२२÷२३ सालमा बनेका भूमि सम्बन्धी ऐन अनुसार ८२ मा काम गर्न कठिनाई छ ।’ उनले कामकाजी भूमि आयोग अर्थात काम गर्ने आयोग आवश्यक भएको भन्दै विगतमा थुप्रै आयोग बनेपनि अपेक्षाकृत काम गर्न नसक्नुमा विद्यमान ऐन कानून नै बाधक रहेको बताए ।
त्यस्तै हरिवन नगरपालिकाकी उपमेयर न्यायिक समितिकी संयोजक हरिमाया घलानले प्राकृतिक स्रोत द्वन्द रुपमान्तरण केन्द्र क्रियाशीलताका कारण आफूहरुलाई समेत न्याय सम्पादन प्रक्रियामा सहज भएको बताईन् ।
त्यस्तै बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कटुवालले केन्द्रले आफ्नो पालिकामा समेत द्वन्द रुपान्तरणको काम गरेकोले केन्द्रको द्वन्द रुपान्तरण प्रक्रिया उत्कृष्ट रहेको बताईन् ।

जिल्ला समन्वय समितिका उपसभापति एवम् कार्यवाहक सभापति जितेन्द्र महतोले आफूले प्राकृतिक स्रोत विगत तीन वर्षदेखि केन्द्रको गतिविधि नियालीरहेकोले केन्द्र अस्पताल र यसका सहजकर्ताहरु डाक्टर भएको बताए । उनले भने,‘अस्पतालमा डाक्टर घाउ सिलाए जस्तै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र पनि एउटा अस्पताल हो र यसका सहजकर्ताहरु डाक्टर हुन्, जसले फाटेका मनहरुलाई सिलाउने काम गरेका छन् । उनले जिल्लामा बहु सरोकारवाला विवाद अत्यधिक रहेकोले सबै पालिकामा पुगेर काम गर्न सुझाव समेत दिए ।
र कार्यक्रमका अध्यक्षता गरेका केन्द्रका अध्यक्ष नारायण खपाङ्गीले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र आफैले विवाद नमिलाउने तर मिलाउन सहजीकरण गर्ने गरेको बताए । ‘द्वन्द हामीले मिलाउँदैनौं, हामी त मिलाउन पहल मात्रै गर्छौं । द्वन्द त तिनैले मिलाउँछन्, जो द्वन्दका पक्ष हुन् । आपसी विवाद आफै बसेर मिलाउने गरेको कारण नै केन्द्र मिलाएका विवाद दिगो हुने र त्यसले टुटेको मनलाई जोड्ने र नयाँ सम्बन्ध स्थापित गर्ने गर्छ । ’,अध्यक्ष खपाङ्गीले भने।
त्यस्तै उनले माकुरा समूह, यसको संरचना, यस्ले गर्ने काम, त्यसको अर्थ समेत स्पष्ट पारे । उनले कार्यक्रमका सबै सहभागिहरुलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सरोकारवालाहरुबाट विगतमा जस्तै अपार साथ र सहयोग प्राप्त हुने अपेक्षा गरे ।









