मनोज यादव /मलंगवा
मंसिर ३ गते । मलंगवा नगरपालिकाको तालाबन्दी बुधबार एघारौं दिन खोलिएको छ । नगरपालिकाका जनप्रतिनिधिहरुले उठाएका १० बुँदे माग सम्बोधन गर्न नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बेवास्ता गरेपछि उपमेयर शकुन्तला देवी साहको अगुवाइमा १२ वटै वडाका वडाअध्यक्षहरुले कात्तिक २३ गतेदेखि नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेका थिए।
मन्त्रालयबाट सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत उपसचिव होमप्रसाद घिमिरे बुधवार औपचारिक रूपमा हाजिर भई १२ बुँदे माग सम्बोधन गर्ने जिम्मेवारी र प्रतिवद्धता जनाइसकेपछि उपमेयर साहले तालाबन्दी खोलेकी थिइन्।


विद्यालयका शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, योजना तथा बजेट कार्यान्वयन, वडा स्तरका प्राविधिक तथा कर्मचारी व्यवस्थापन, छठ कार्यक्रमका खर्च भुक्तानी, नाला सरसफाइदेखि लिएर नगर शिक्षा समितिमा सदस्य अदबदलसम्मका विषयमा तुरुन्त कार्यान्वयन गरिने सहमति भएको नगरपालिकाका प्रवक्ता एवम् वडा न–१ का वडाअध्यक्ष नवल किशोर रायले बताए ।


प्रमुख प्रशासकीय अधिकृत घिमिरेसँग भएको सहमतिको मुख्य बुँदामा सामाजिक सुरक्षा भत्ता दुई दिनभित्र वितरण गर्ने, तलब भुक्तानी गर्ने , सबै वडामा जडान भएको बिजुली बत्तीको बाँकी भुक्तानी, नाला सरसफाइ तत्काल सुरु गर्ने, छठ घाट सजावट खर्च समाधान गर्ने, वडामा कार्यरत सामाजिक परिचालक र अन्य कर्मचारीको तलब व्यवस्थापन, नियमित बैठक महिनामा दुई पटक बस्ने, र शिक्षा समितिबाट जयरुद्र झालाई हटाएर वडा नं. १२ का अध्यक्षलाई पुनः सदस्य बनाउने निर्णय समावेश छन्।


नगरप्रमुख यादव अस्वस्थ भएका कारण हाल उपचारको लागि काठमाडौ गएकोले बुधवार बिहान भएको छलफल र तालाबन्दी खोल्ने कार्यक्रममा उनी अनुपस्थित रहेका थिए । नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई उपप्रमुख साह,यसअघिका निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,१२ वटै वडाका वडाध्यक्ष,सदस्य तथा कर्मचारीहरूले खाँदा ओढाएर स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत हाजिर भएसँगै महिनौंदेखि सामाजिक सुरक्षा भत्ता नपाएर प्रभावित लाभग्राहीमा अब भत्ता पाउने आशा पलाएको छ ।