मलंगवा, कार्तिक २६ गते । सर्लाहीका क्रियाशील पत्रकारहरुको लागि मलंगवामा डिजिटल पत्रकारिता, लैङ्गिक संवेदनशीलता र गो–ग्रीन तालिम दिइएकाे छ ।
सुनौलो सिसौट नेपालको आयोजना, इन्टरनेशनल एलर्टको सहयोग र नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा यहाँका क्रियाशील पत्रकारहरुका लागि  एक दिने तालिम दिइएकाे हाे ।
मलंगवास्थित होटल सुजाता एण्ड पार्टी प्यालेसमा बुधवार सम्पन्न उक्त तालिममा सहभागिहरुलाई  प्रशिक्षक राष्ट्रिय समाचार समिति(रासस) का अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिएका थिए । तालिममा जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध क्रियाशील पत्रकारहरूको  सहभागिता रहेको थियो ।


तालिममा सहभागी पत्रकारहरूलाई प्रभावकारी, सुरक्षित र जिम्मेवार समाचार लेखनका लागि आवश्यक डिजिटल सीप, समावेशी रिपोर्टिङ, वातावरणमैत्री अभ्यास, डिजिटल साक्षरता तथा प्रविधिको प्रयोगका विषयमा प्रमुख प्रशिक्षक रासस अध्यक्ष झाले सिकाएका थिए । तालिममा मल्टिमिडिया सामग्री निर्माण, भिडियो, इन्फोग्राफिक्स र सामाजिक सञ्जालमार्फत प्रभावकारी सञ्चारका उपायहरूबारे पनि जानकारी दिइएको थियो ।
लैङ्गिक संवेदनशील रिपोर्टिङ, मिडियामा लैङ्गिक गतिशीलताको प्रभाव र सीमान्तकृत समुदायहरूको पक्षमा नैतिक पत्रकारिता सम्बन्धी विषयहरू समेत तालिममा समावेश गरिएको थियो ।


कार्यक्रमको अन्त्यमा सहभागि पत्रकारहरूलाई प्रशिक्षक अध्यक्ष धर्मेन्द्र झा, इन्टरनेशनल एलटकी एसिया डारेक्टर रविना श्रेष्ठ, इन्टरनेशनल एलर्टकै प्रतिष्ठा थापा, सुनौलो सिसौट नेपालका अध्यक्ष अरुणप्रताप सिंह र पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ओपप्रकाश ठाकुरले प्रमाणपत्र वितरण गरेका थिए ।
सुनौलो सिसौट नेपालले जिल्लामा क्रियाशील पत्रकारहरुलाई समय समयमा यसरी नै विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । यसअघि पनि उक्त संस्थाले यहाँका पत्रकारहरुलाई तालिम दिएकाे थियो ।
तालिमले आफूहरुलाई कार्यक्षेत्रमा थप सहजता प्रदान गर्ने र संवेदनशील विषयहरुको रिपोटिङमा समेत जिम्मेवार ढंगले रिपोर्टिङ र समाचार लेखनमा सहयोग पुग्ने सहभागि पत्रकारहरुले बताएका छन् ।