लालबन्दी, कात्तिक २६ गते । सर्लाहीका नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामु राज कडरियालाई उद्योग वाणिज्य संघ लालबन्दीले स्वागत गरेको छ । संघको कार्यालयमा बुधवार आयोजित एक औपचारिक कार्यक्रममा प्रजिअ कडरियाको स्वागतसँगै परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको हो ।


कार्यक्रममा संघका अध्यक्ष महेश कुमार महतोसहितका पदाधिकारीहरूले लालबन्दीमा पछिल्लो समय बढिरहेका सवारीसाधन तथा घर चोरीका घटना, लागूपदार्थको बढ्दो प्रयोग तथा आयात, जेनजी आन्दोलनका कारण व्यवसायमा परेको असर आदि विषयमा जानकारी गराउँदै ती समस्याहरू समाधानको लागि पहल गरिदिन आग्रह गरेका थिए ।
प्रजिअ कडरियाले आफू पनि यसै जिल्लाका नागरिक भएकाले औंल्याइएका समस्याको समाधानका लागि जिम्मेवार रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष महेश कुमार महतो, अन्य पदाधिकारी तथा पूर्व पदाधिकारीहरू उपस्थित थिए ।


प्रजिअ कडरियाले गत कात्तिक १७ गतेदेखि सर्लाहीमा कार्यभार सम्हालेका हुन्। यसअघि उनी गोरखाका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए । गृह मन्त्रालयले कात्तिक ९ गते ३६ जना सहसचिवहरूको सरुवा गर्दै २५ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू परिवर्तन गरेको थियो। सोही क्रममा कडरियालाई गोरखाबाट सर्लाही सरुवा गरिएको हो भने सर्लाहीका तत्कालीन प्रजिअ तुलसी बहादुर श्रेष्ठलाई गोरखा सरुवा गरिएको थियो ।