
सर्लाही, कात्तिक—२४ गते — आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कनमा लालबन्दी नगरपालिकाले ९९ अंकसहित ए–प्लस (A+) ग्रेड प्राप्त गर्दै सर्लाही जिल्लामै पहिलो स्थान हासिल गरेको छ । स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समीक्षामा स्वास्थ्य कार्यालय सर्लाहीको मुल्याँकन अनुसार लालबन्दीले जिल्लाका सवै स्थानीय तहलाई पछाडि पार्दै उत्कृष्ट अंक प्राप्त गर्न सफल भएको हो ।
स्वास्थ्य सेवा प्रवाह, जनस्वास्थ्य कार्यक्रमको कार्यान्वयन, मातृ–शिशु स्वास्थ्य, खोप सेवा, पोषण, रोग नियन्त्रण, सरसफाइ, तथ्याङ्क व्यवस्थापन र समन्वयका सूचकमा उत्कृष्ट प्रदर्शन गरेबापत लालबन्दीले यो उपलब्धि हासिल गरेको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाले चियोचर्चो दैनिकलाई जानकारी दिए।

उत्कृष्ट भएको लालबन्दी नगरपालिकालाई स्वास्थ्य कार्यालय मलंगवाले “उत्कृष्ट स्थान (A+)” प्राप्त गरेको भन्दै प्रशंसा–पत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, स्वास्थ्य कार्यालय प्रमुख डा. झा र तथ्याङ्क अधिकृत लाल बाबु रायले संयुक्त रूपमा प्रशंसा–पत्र हस्तान्तरण गरेका थिए।
नगर प्रमुख वासुदेव अधिकारीले लालबन्दीको यो सफलता सम्पूर्ण स्वास्थ्यकर्मी, चिकित्सक, स्वयंसेविका, आमा समूह, कर्मचारी र जनप्रतिनिधिहरूको संयुक्त प्रयासको परिणाम भएको उल्लेख गर्दै “यो उपलब्धिले हाम्रो प्रयास सफल बनाएको छ,” उनले भने ।

स्वास्थ्य शाखा प्रमुख मुम्ताज मिकरीनिले नगरपालिकाको नेतृत्व, प्रशासनिक निकाय र सम्पूर्ण टिमको सहयोगप्रति आभार व्यक्त गर्दै नागरिकका अधिकारलाई केन्द्रमा राखी अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिने बताए ।
स्वास्थ्य कार्यालय सर्लाहीले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार यस वर्षको स्वास्थ्य सूचकाङ्कमा लालबन्दी नगरपालिका ९९ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । यसपटक विष्णु गाउँपालिकाले ९६ दशमलव ७० अंक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको छ भने हरिपुर नगरपालिका ९६ दशमलव २० अंकसहित तेस्रो स्थानमा परेको छ।
त्यसैगरी हरिवन नगरपालिकाले ९५ दशमलव ४० अंक प्राप्त गर्दै चौथो स्थान हासिल गरेको छ भने बसबरीया गाउँपालिका ९४ दशमलव २० अंकसहित पाँचौँ स्थानमा परेको छ।
चक्रघाटा गाउँपालिका ८८ दशमलव ९० अंकका साथ छैटौँ, पर्सा गाउँपालिका ८८ दशमलव ६० अंकका साथ सातौँ, र ईश्वरपुर तथा धनकौल गाउँपालिका दुवै ८८ दशमलव १० अंकका साथ संयुक्त रूपमा आठौँ स्थानमा रहेका छन्।
त्यस्तै बागमती नगरपालिका ८४ अंकसहित नवौँ, चन्द्रनगर गाउँपालिका ८३ दशमलव ९० अंकसहित दशौँ, र बरहथवा नगरपालिका ८३ दशमलव ३० अंकका साथ एघारौँ स्थानमा परेका छन्। ब्रहमपुरी गाउँपालिका ८० दशमलव ९० अंकसहित बाह्रौँ, मलंगवा नगरपालिका ८० दशमलव ८० अंकसहित तेह्रौँ, गोडैता नगरपालिका ७८ दशमलव ३० अंकसहित चौधौँ स्थानमा रहेका छन्।

त्यसैगरी बलरा नगरपालिका र कौडेना गाउँपालिका दुवै ७७ दशमलव ८० अंकका साथ क्रमशः पन्ध्रौँ र सोह्रौँ स्थानमा रहेका छन्। हरिपुर्वा गाउँपालिकाले ७१ दशमलव ७० अंक प्राप्त गरी सत्रौँ स्थान, कविलासी नगरपालिका ७० दशमलव ७० अंकका साथ अठारौँ स्थान, र रामनगर गाउँपालिका ७० अंकका साथ उन्नाइसौँ स्थानमा रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
सोमवारनै दुई दिने समीक्षा गोष्ठी सम्पन्न भएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. ओम अर्याल, स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपाने, तालिम केन्द्रका प्रमुख डा. राजिव झा लगायतको उपस्थितिमा कार्यक्रम सम्मन्न भएको हो ।
कर्यक्रममा सचिव अर्यालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै सेवा सुधारका लागि सबै तहको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “अझै केही पालिकामा तलबसम्बन्धी समस्या समाधान हुन बाँकी छ, त्यसले स्वास्थ्यकर्मीको मनोबलमा असर पर्न सक्छ, त्यसैले समयमै समाधान गर्नुपर्नेछ।”स्वास्थ्य कार्यालयका प्रमुख डा. झाले भने, “विषम परिस्थिति र सीमित स्रोतबीच पनि स्वास्थ्यकर्मीहरूले सेवा दिँदै आएका छन्, जसका कारण जिल्लाको स्वास्थ्य प्रणालीमा निरन्तर सुधार भएको छ,।”स्वास्थ्य कार्यालय सर्लाहीले उत्कृष्ट कार्य सम्पादन गरी ए–प्लस (A+) ल्याउने पालिकालाई सम्मान गरेको छ। ति पालिकाहरुमा लालबन्दी नगरपालिका,विष्णु गाउँपालिका,हरिपुर नगरपालिका,हरिवन नगरपालिका र बसबरीया गाउँपालिका रहेका छन ।









