बरहथवा, कात्तिक— २२ गते । स्थानीय तहको उद्धार तथा विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले बरहथवा नगरपालिकाले नयाँ वारुण यन्त्र (दमकल) प्राप्त गरेको छ । जापान सरकारले “भोलेन्टियर कोप्र्स नेपाल” नामक संस्थामार्फत उक्त दमकल उपलब्ध गराएको हो।


सामाजिक अभियन्ता एवम् ग्लोबल गुडवील एम्बेस्डर सरोज रायको पहलमा प्राप्त यो वारुण यन्त्र शनिवार एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरिएको हो । पूर्वरक्षामन्त्री तथा सर्लाही क्षेत्र नं. ३ का निर्वतमान सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।


बरहथवा नगर प्रमुख कल्पनाकुमारी कटुवाल, सरोज राय लगायतका व्यक्तिहरूको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाले छिट्टै वारुण यन्त्र सञ्चालनका लागि आवश्यक मापदण्ड तयार गरी कार्य अघि बढाइने जानकारी दिएको छ । चाडै अर्को वारुण यन्त्र पनि चक्रघट्टा गाउँपालिकालाई उपलब्ध गराउने तयारी भइरहेको समाजसेवी सरोज रायले जानकारी दिए ।