लालबन्दी, कात्तिक २२ गते । लालबन्दी नगरपालिका–२ जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना बद्ध सेवाश्रममा कम्युनिटी वेलफेयर इङ्लिस स्कुल, लालबन्दीका क्याप्टेन विद्यार्थीहरू र शिक्षकशिक्षिकाहरूले शनिवार मिष्ठान्न भोजन कार्यक्रम आयोजना गरेका छन् ।
आश्रममा आश्रित बृद्धबृद्धा बुवाआमाप्रति माया र सम्मान  प्रकट गर्दै गरिएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक सुशान्त पौडेल र सागर पौडेलको सहभागिता रहेको थियो । कार्यक्रममा सेवाश्रमका आश्रित बृद्धबृद्धाहरूसँग विद्यार्थीहरूले आत्मीय समय बिताउँदै उनीहरूलाई भोजन गराएका थिए ।


कार्यक्रमका अवसरमा सेवाश्रम परिवारको तर्फबाट अध्यक्ष भवानी कोइरालाले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरिन् । उनले हाल सेवाश्रममा पाँच दर्जनभन्दा बढी बृद्धबृद्धा आश्रित रहेको जानकारी दिँदै विभिन्न संघसंस्था र समाजसेवीहरूले पुन्य तिथि, जन्मदिनलगायतका अवसरमा कार्यक्रम आयोजना गरी सेवाश्रमका बृद्धबृद्धाको भरण पोषणमा सहयोग गर्दै आएको बताइन् ।

यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व र मानवीय मूल्यप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विद्यालयका संस्थापक/प्रिन्सिपल सुदिप कार्कीले चियोचर्चो दैनिकलाई जानकारी दिए ।