सर्लाही,कार्तिक २१ गते । जिल्लाको रामनगर गाउँपालिका–१ खैर्वाका १४ वर्षीय आशिक यादव बागमती खोलामा मृत अवस्थामा फेला परेका छन्। खाेलामा नुहाउन गएका उनी  तीन दिन देखि बेपत्ता थिए।


कार्तिक १९ गते बिहान करिब ६:३० बजे कार्तिक पूर्णिमाको अवसरमा नुहाउन बागमती खोलातर्फ गएका आशिक सोही दिनदेखि सम्पर्कविहीन भएका थिए। आफन्तले खोजतलास गर्ने क्रममा उनको कपडा बागमती नदी किनारमा फेला परेको खबर प्रहरीलाई दिइएपछि खोजी कार्य सुरु गरिएको थियो।


प्रहरी चौकी खैर्वा बहुअर्वाबाट प्र.स.नि. ओकिल प्रसाद सिंहको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय गडहियाबाट प्र.नि. कैलाश चौधरीको नेतृत्वमा ७ जना र सशस्त्र प्रहरी बल BOP छटौनाबाट स.प्र.ह. रोशन प्रसाद साहको नेतृत्वमा ५ जना गरी १६ जनाको टोलीले खोजी कार्य गरेको थियो।
बिहीवार हिजो बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ९ जनाको टोलीले खोजी जारी राखेको थियो। त्यस क्रममा दिउँसो २ न. बाहिनी बर्दिवास, महोत्तरीबाट स.प्र.ना.नि. सूर्यबहादुर श्रेष्ठको कमाण्डमा ९ जनाको गोताखोर टोली आएपछि १८ जनाको संयुक्त टोलीले खोजी कार्य गरेको थियो।  साँझ  ५:१५ बजेसम्म बालक फेला पर्न सकेको थिएन ।


शुक्रवार (आज) बिहान करिब ८:०५ बजे रौतहटको दुर्गाभगवती गाउँपालिका–२ स्थित बागमती नदी किनारमा आशिक यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटनास्थल पुगेको प्रहरीले टोलीले  मुचुल्का र प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।  शवको पोष्टमार्टकाे तयारी भइरहेको प्रहरीले जनाएको छ ।